एकैदिन बहुला कुकुरले टोक्दा एउटै वडाका १० जना घाइते

जनता संवाददाता
२०८० आश्विन २४ गते, बुधबार

दाङ । लमही नगरपालिका ,वडा नं‍‍‍ ७ वनगईमा सोमबार बहुला कुकुरको टोकाईबाट एकै दिन १० जना घाइते भएका छन् ।

सोमबार बहुला कुकुरले टोक्दा लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ को भोजलाल चौधरी, सोही ठाउँ निवासी हरू बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष ४२ को मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ को रेवती यादव घाइते भएका हुन् । त्यस्तै विद्यालय जाँदै गरेका विद्यार्थी बन्गै निवासी बर्ष १३ कि बिष्णु चौधरी र बर्ष ९ कि अनुस्का चौधरीलाई टोक्दा उहाँहरुपनि घाइते हुनु भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरू सबैको लमही अस्पतालमा रेविज विरुद्ध ईन्जेसन नभए पछि बिरामीहरू आफै बुटवल र नेपालगन्ज गएको पारिवारिक स्रोतले जनाएको छ ।

बहुला कुकुरको टोकाईबाट स्थानीय त्रसित बनेका छन् । खासगरी कमानपुर, बन्गै र हसनापुर गाउँका स्थानीय त्रसित भएका छन् । घटना निम्त्याउने कुकुरलाई स्थानीयले मारेर गाडिसकेका छन् तर अन्य कुकुर पनि बहुलाएको हुन सक्ने भएकाले स्थानीय त्रसित बनेको स्थानीय बासी राजु पुनले बताए ।

“सम्बन्धित कुकुरले अरू कुकुरलाई टोकेको हुन सक्छ, जसले गर्दा अन्य कुकुर बहुलाउने अवस्था आउन सक्छ” त्यस तर्फ ध्यान दिन स्थानीयवासी पुनले आग्रह गरे ।

बहुला कुकुरको बिगबिगी बढ्ने सङ्केत देखिएपछि लमही नगरपालिका ७ का वडाध्यक्ष मोहन गिरीले सबैलाई सचेत हुन आग्रह गर्दै कुकुरको व्यवस्थापन तथा उपचारका लागि आफू लागि परेको बताए । वडाअध्यक्ष गिरिले अन्य कुकुरको अनुसन्धानका लागि पशु स्वास्थ्य शाखामा निर्देशन दिएको बताए ।

प्रकाशित मिति : २०८० आश्विन २४ गते, बुधबार


Scroll to Top

Janata Media