एउटै पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको मृत्यु

जनता संवाददाता
२०८० आश्विन ३० गते, मंगलवार

काठमाडौँ । तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ ।

तनहुँमा हालसम्म पाँच हजार ५५६ जनामा सङ्क्रमण भएकोमा व्यासमा चार हजार ७३५, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १५०, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ३७, भानु नगरपालिकामा ७३ भिमाद नगरपालिकामा १५६ जना, म्याग्दे गाउँपालिकामा ८५ जना, शुक्ला गण्डकी नगरपालिकामा ३४० जना र पालिका नखुलेको ६ जनामा डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँमा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

सङ्क्रमितमध्ये व्यास नगरपालिकामा मात्रै ८५ प्रतिशतभन्दा बढी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार पाँच जनाको मृत्यु भएको छ । नगरपालिका–४ शीतलचोकका छ वर्षीय रिजब श्रेष्ठको असोज २६ गते निधन भएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको हो । डेंगुको सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिबर्तन बरालले जानकारी दिनुभयो । जिल्लामा रोग फैलिदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी तनहुँ डेंगु रोगको रोकथाम तथा न्यूनीकरण अभियानमा सामेल छ । रेडक्रसले सचेतना मुलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कलमार्फत लामुखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको कामभईरहेको नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा।डा। कृष्णप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० आश्विन ३० गते, मंगलवार


Scroll to Top

Janata Media