पदमुक्त भएपछि नगरपालिका उपस्थित भईनन् मौलापुर नगरप्रमुख साह

जनता संवाददाता
२०८० आश्विन ३० गते, मंगलवार

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रीनाकुमारी साहको पद गुमेपछि उनी मङ्गलबार नगरपालिका उपस्थित भईनन् । मङ्गलबार नै निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएपछि उनी पालिकामा अनुपस्थित भएकी हुन् ।

नेकपा एकीकृत (माक्र्सवादी–लेनिनवादी) राजनीतिक दलबाट स्थानीय निर्वाचन दोस्रोमा समेत विजयी भएकी उनले माउ दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भन्दै एमालेको केन्द्रीय समितिको निर्णयले राजनीति दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको निर्वाचन आयोगको जारी सूचनामा उल्लेख छ ।

आज बिहान १० बजेसम्म पद गुमेको जानकारी नपाएको भन्दै उनले दसैँको मुखमा तलब भत्ता, विकास निर्माण सम्पन्न कामको भुक्तानीलगायतका आर्थिक तथा अन्य महत्त्वपूर्ण काम बाँकी रहेकाले सोको काम कारवाहीका लागि नगरपालिका पुग्नै पर्ने बताए पनि जानकारी पश्चात उनी पालिका उपस्थिति भईनन्।

उनी आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले राष्ट्रिय सूचना जारी भइसकेपछि नैतिकताको आधारमा पनि उनी कार्यालय नआएको हुन सक्ने बताए ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट विक्रम संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा साह निर्वाचित भएको आयोगले जनाएको छ ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी माओवादी पार्टीको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम निर्वाचित भएको निजको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको दोस्रो निर्वाचनमा उनले पाँच हजार पाँच सय ६४ मत प्राप्त गरी उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार रामप्रवेश राय यादवलाई दुई हजार ५०२ मतान्तरले पराजित गरेका थियो ।

प्रकाशित मिति : २०८० आश्विन ३० गते, मंगलवार


Scroll to Top

Janata Media