निगमले गर्‍यो २०८० आश्विन मसान्तसम्मको जहाजको ऋण भुक्तानी

जनता संवाददाता
२०८० कार्तिक १ गते, बुधबार

काठमाडौं । नेपाल वायु सेवा निगमले आश्विन मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको जानकारी दिएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८० आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक गरी मिति २०८० आश्विन ३० गते कुल ५३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको हो ।

यस अघि निगमले २०७९ आषाढ देखि २०८० आषाढ सम्मको अवधिमा तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार एक सय २५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको छ । नगद प्रवाहमा सुधार भए पश्चात् प्रमूख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरीएको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्र मा उडान भर्ने तीन वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत अन्तिम चरणमा छ ।

निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको छ ।

यसबाट आफ्नो राष्ट्रिय उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त छ ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते, बुधबार


Scroll to Top

Janata Media