चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

जनता संवाददाता
२०८१ चैत्र १० गते, आईतवार

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यसैगरी, कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते, आईतवार


Scroll to Top

Janata Media