भारतको कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

जनता संवाददाता
२०८० कार्तिक ९ गते, बिहीबार

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर(हैदराबाद राष्ट्रिय राजमार्गमा भएको हो।

आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्याङ्कर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका थिए । घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो, प्रहरी अधिकारीले बताए । प्रहरीका अनुसार यात्रु बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो ।

कुहिराका कारण बाटो स्पष्ट नदेखिएकाले सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा करिब १ लाख ५० मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन्। यद्पि भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनामा हुने मृत्युलाई ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०८० कार्तिक ९ गते, बिहीबार


Scroll to Top

Janata Media