
काठमाडौं । कुशल भुर्तेलले विस्फोटक अर्धशतकीय पालिको सहयोगमा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालले शानदार विजयी सुरुआत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपालले सिङ्गापुरलाई २१ बल बाँकी छँदै आठ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको सिङ्गापुरले नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ । नेपालले १६.३ ओभरमा आठ विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल गर्यो ।
भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ७४ रन बनाए । उनी अनन्थ वृफष्णको बलिङमा छक्का प्रहार गर्ने चक्कमा क्याच आउट भए । भुर्तेलले आज आफ्नो सातौँ टी २० अर्धशतक पूरा गरेका हुन् । उनले २६ बलमै अर्धशतक बनाएका थिए ।
भुर्तेलले आसिफ सेखसँग मिलेर पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो । अक्षय पुरीको बलिङमा आसिफ २७ रनमा आउट भएपछि सो साझेदारी भङ्ग भएको हो । कप्तान रोहित पौडेल २६ बलमा २७ र कुशल मल्ल छ रनमा अविजित रह् । मल्लले आफूले सामना गरेको पहिलो बलमा नै छक्का प्रहार गरी खेल समाप्त पारेका हुन् ।
यसअघि, सिङ्गापुरका लागि प्रारम्भिक ब्याट्सम्यान रोहन रङ्गराजनले ३० बलमा नौ चौका र एक छक्कासहित ४६ रनको विस्फोटक पालि खेलेपछि नेपालले ठुलै स्कोर पछ्याउनुपर्ने स्थिति बनेको थियो । तर लेग स्पिनर सन्दीप लामिछाने र अलरान्डर गुलसन झाले लगातार विकेट निकालेर सिङ्गापुरका मध्यक्रमलाई शान्त पारे ।
सन्दीप ७.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्किएको हो । यसअघि, सिङ्गापुरले पहिलो पावर प्लेमा एक विकेटका क्षतिमा ५१ रन बनाइसकेको थियो । त्यसपछि गुल्सन झाले आफ्नो पहिलो ओभरमा नै दुई विकेट निकालेपछि सिङ्गापुरले ५४ रन बन्दा चार विकेट गुमाएको थियो । तर पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाएर सिङ्गापुरलाई प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुर्याए । उहाँको पालिमा पाँच चौका सामेल थियो ।
नेपालका लागि गुलसनले चार ओभरमा २१ रन, सन्दीपले ४ ओभरमा १८ रन र करण केसीले ४ ओभरमा ३६ रन खर्चेर समान दुई–दुई विकेट लिए । सुरुका दुई ओभरमा महँगो साबित भएका तेज बलर अविनाश बोहोराले चार ओभरमा ४४ रन दिएर सर्वाधिक तीन विकेट हासिल गरे ।
आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी-२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी-२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।