दाङमा प्लाई उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

जनता संवाददाता
२०८१ चैत्र ११ गते, सोमबार

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।

आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नष्ट भएको छ । आइतबार राति करिब १ः३० बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार आगलागीका कारण मानवीय क्षति भने भएको छैन । उनका अनुसार आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।

उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आए पनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकाबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते, सोमबार


Scroll to Top

Janata Media