टिकटक बन्द हुँदा अपलोड भएका सामग्री कसरी सुरक्षित राख्ने ?

जनता संवाददाता
२०८० कार्तिक २८ गते, मंगलवार

काठमाडौं । नेपाल सरकारले चर्चित सामाजिक सञ्जाल एरिुप्लकेशन टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालभित्र टिकटकमाथि रोक लगाउने निर्णय गरेको हो ।

योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । यदि सरकारको निर्णय कार्यान्वयन भए आधिकारिक रूपमा नेपालमा टिकटक चलाउन पाइने छैन । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ ।

सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाउँछ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः देशभित्र प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा देशभित्र अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न सक्दैनन् ।

छिमेकी देश भारतले सन् २०२० मा राष्ट्रिय सुरक्षा र गोपनीयताको कुरा उठाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउँदा भारतीय प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री एपको सर्भरबाट हटाइएको थियो । यसमा भिडिओहरू, कमेन्टहरू, डाइरेक्ट म्यासेज लगायत समावेश थिए । टिकटकले भारतीय अकाउन्टहरूसँग सम्बन्धित सबै प्रयोगकर्ताको डेटा पनि हटाएको थियो ।

यसको मतलब भारतीय टिकटक प्रयोगकर्ताहरूले आफ्ना सबै सामग्री र डेटामा पहुँच गुमाए । यद्यपि, केही प्रयोगकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि आफ्नो सामग्री डाउनलोड गर्न भ्याएका थिए । अरुले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) वा अन्य विकल्पमार्फत आफ्नो अकाउन्ट र सामग्रीमाथि पहुँच गरे ।

यसकारण नेपालमा टिकटकमाथि पूर्ण प्रतिबन्ध लाग्दा यस प्लेटफर्मले आफ्नो सर्भरमा रहेका सामग्री हटाउन सक्ने भएकाले त्यस्ता सामग्रीको ब्याकअप डाउनलोड गर्नु नै उचित हुन्छ । यसरी तपाईंले आफ्नो सामग्री सुरक्षित गर्न सक्नुका साथै आवश्यक भएमा यसलाई अन्य प्लेटफर्महरूमा पुनस् पोस्ट गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते, मंगलवार


Scroll to Top

Janata Media