महिला टी–२० सिरिजः हङकङसँग नेपाल ९ विकेटले पराजित, फाइनलको यात्रा सकियो

जनता संवाददाता
२०८० कार्तिक ३० गते, बिहीबार

काठमाडौँ । चार देश सम्मिलित टी.२० श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो।

हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा नै १ विकेट गुमाएर पुरा गर्‍यो।

हङकङको सहज जितमा नतशा माइल्सले ३० रन बनाउँदा सहजिन सहजादले २० रन बनाएकी थिइन्। ओपनर मारिको हिल ५ रनमा रनआउट भएकी थिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि रुविना क्षेत्रीले २५ रन बनाउनु एक मात्र दोहोरो स्कोरका रूपमा रह्यो।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी इक्रा सहारले तीन विकेट लिँदा रुचिथा भेन्का‍टेसले दुई विकेट लिएकी थिइन्।

हारसँगै नेपालको फाइनल सम्भावना सकिएको छ। यसअघि नेपाल पहिलो खेलमा तान्जेनियासँग पराजित भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते, बिहीबार


Scroll to Top

Janata Media