पोखरा चौबिसै घण्टा नखुल्ने

जनता संवाददाता
२०८० मंसिर १ गते, शुक्रबार

काठमाडौँ । उच्च अदालत पोखराको बुधबारको अन्तरिम आदेशले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उच्च प्राथमिकता पायो । स्थानीय देवीकुमारी बरालले मङ्गलबार दायर गरेको रिटमा उच्चले उनलाई लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न चाहे नरोक्न आदेश दिएको छ । आदेशपछि फेरि लेकसाइड चौबिसै घण्टा खोल्न हुने वा नहुनेबारे बहस सुरु भएको छ ।

यसअघि ओजन डिस्कोसहित चकटी विश्राम खाजा घर, रोलिङ स्टोन रक एन्ड बार, कोइला लाउन्ज बार, ट्रेजरर लाउन्ज बार एन्ड रेस्टुरेन्टलगायतले अदालतबाट आदेश पाएर राति अबेरसम्म व्यवसाय चलाउँदै आएका छन् । बाँकी व्यवसाय भने राति ११ बजे नै बन्द हुन्छन् ।

२०७४ मा तत्कालीन गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै लेकसाइडसहित देशका मुख्य पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुला गर्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसहित गण्डकीका मुख्यमन्त्रीले समेत बारम्बार लेकसाइड चौबिसै घण्टा खुला गर्ने वातावरण बनाउने बताउँदै आएका छन् ।

पोखरा महानगरको नीति तथा कार्यव्रmममै लेकसाइडसहित मुख्य पर्यटकीय क्षेत्र चौबिसै घण्टा खोल्ने व्यवस्था मिलाउने उल्लेख छ । महानगर प्रमुख धनराज आचार्य लेकसाइडसहित आवश्यकता पहिचान गरी अरू पर्यटकीय क्षेत्रसमेत चौबिसै घण्टा खुला गर्ने उद्देश्य लिएको सुनाए ।

“लेकसाइडमा आवासीय घर पनि छन् । सिसी क्यामरा जडानसहित सुरक्षाको व्यवस्था मिलाउनु जरुरी छ । चौबिसै घण्टा खोल्न सके यसले पर्यटनमा सकारात्मक प्रभाव पार्छ,” उनले भने । पोखरालाई चाँडै पर्यटनको राजधानी घोषणा गरिने जनाउँदै उनी हाइमास्ट र स्मार्ट लाइटले पनि यो अभियानलाई सघाउने उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ उच्चको आदेश स्वागतयोग्य भएको बताउनुहुन्छ । “यो हाम्रो वर्षौंदेखिको माग हो । संसारभरका पर्यटकीय क्षेत्र रातभर खुल्छन्, यहाँ पनि खुल्दा राम्रै हुन्छ,” उनले भने।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सरकारले बजार खोल्ने कानुनी व्यवस्था गरे त्यसलाई कार्यान्वयन गर्ने जनाए । उच्चको अन्तरिम आदेश रिट दायरकर्ताका लागि मात्र भएकाले आदेश कार्यान्वयनका लागि तत्काल थप केही गर्न आवश्यक नभएको उनको भनाइ छ । घिमिरे भने, “अन्तिम आदेश सबैले खुला गर्न पाउने आए सरकारको निर्देशन अनुसार व्यवसायी, सर्वसाधारण, पर्यटन व्यवसायी सबैको सुरक्षाको प्रबन्धसहित लागु गर्न हामी तयार छौँ ।”

रेस्टुरेन्ट व्यवसायी चौबिसै घण्टा खोल्ने पक्षमा भए पनि होटल व्यवसायी भने यसको विपक्षमा छन् । रेस्टुरेन्ट र होटल व्यवसायी विभक्त हुँदा स्थानीयलाई भने होहल्ला, असुरक्षा हुने र विकृति बढ्ने चिन्ता छ ।

अधिकारकर्मीसमेत रएका लेकसाइडका बासिन्दा अनिल थापा सामाजिक मर्यादा र कानुन अनुसार चले चौबिसै घण्टा बजार खुल्दा नै राम्रो हुने विचार राखे। “त्यसरी व्यवसाय गर्नेले साउन्ड प्रुफ गर्नु पर्यो । मद्यपान, धूमपान गर्दै रोडमा हिँड्न दिएनन् । दुर्घटना, झैझगडा हुन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त हुनु पर्छ,” उनले थपे ।

होटल व्यवसायी भने रातभर बजार खोल्दा पर्यटकलाई असर पर्ने बताउँछन् । थकित भएर होटलमा आराम गर्ने पर्यटक, लेकसाइडमै घर भएका स्थानीयको जीवनलाई यसले बाधा गर्ने उनीहरूको तर्क छ । थप एक सिफ्टमा कर्मचारी राखेर व्यवसाय गर्दा आर्थिक बोझ थपिने उनीहरू बताउँछन् ।

लेकसाइड क्षेत्रको शान्ति, सुरक्षाको जिम्मा वडा प्रहरी कार्यालय बैदाम मातहत पर्छ । कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा मापदण्डबमोजिम व्यवसाय सञ्चालन गर्न दिन प्रहरीलाई कठिनाइ नहुने उल्लेख गरे । “व्यवसायीले मापदण्ड पालना गर्ने, सर्वसाधारण र पाहुनाले सुरक्षित महसुस गर्ने वातावरण बन्नु पर्छ । शान्ति, सुरक्षा प्रत्याभूत गराउन प्रहरी तयार छ,” थापाले भने ।

प्रकाशित मिति : २०८० मंसिर १ गते, शुक्रबार


Scroll to Top

Janata Media