खाद्य सङ्कट निम्तिन सक्ने

जनता संवाददाता
२०८० मंसिर ४ गते, सोमबार

काठमाडौँ। भूकम्पले जाजरकोटमा खाद्य सङ्कटको जोखिम हुने भएको छ । घरमा भण्डारण गरिएका अन्न र खाद्यान्न भत्किएकै घरले पुरिएको र बारी तथा खेतमा लगाएको अन्नबाली निकाल्ने बेला नभएपछि भूकम्प क्षेत्रमा खाद्य सङ्कट गहिरिएको हो । खेतबारीको अन्नबालीले समेत सो क्षेत्रमा तीन महिनादेखि धनीमानीको छ महिना थेग्ने अवस्था रहन्छ । समयमै खाद्यान्न जोहो गर्न नसके जिल्लामा खाद्य सङ्कट आउन सक्ने चेतावनी जिल्लाका सरोकार निकायले दिए।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक सुरेश सुनारले भूकम्पले जिल्लामा खाद्य सङ्कटको जोखिम बढाएको बताए । उनले एक महिनाभित्र खाद्यान्नको जोहो गर्न नसकिए खाद्य सङ्कट आउने बताए । उनका अनुसार भूकम्पले घरभित्र रहेका खाद्यान्न पुरिएको र निकाल्न पनि सकिने अवस्था भएन । भूकम्पपछि अहिले सहयोगी दाताले दिएको खाद्यान्नले गुजारा चलेको छ । खेतबारीमा लगाएको अन्नले बढीमा छ महिना पुगे पनि वैकल्पिक खाद्यको जोहो गर्न नसकिए खाद्य सङ्कट आउने अवस्था छ ।

त्यसो त जाजरकोट बर्सेनि खाद्य असुरक्षित जिल्लामा पर्छ । प्रजिअ सुनारले जिल्लामा तीन महिनादेखि बढीमा नौ महिनासम्म पुग्नेसम्मको मात्र खाद्य उत्पादन हुने गरेको बताए । यहाँका बासिन्दा पनि रोजगारीका लागि भारततिर जाने गर्छन् । बाह्रै महिना पुग्ने खाद्य उत्पादन हुँदैन ।

जिल्लाका दुर्गम मानिएका कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका अझ बढी खाद्य असुरक्षित छन् । भूकम्पले भएको खाद्यान्न पनि पुरिएको र काम गरेर कमाउने जनशक्ति मृत्युको शोकमा र भत्केका घरको उत्खननमा लाग्नु परेको जिल्लामा खाद्य सङ्कट आउने धेरै सम्भावना भएको प्रजिअ सुनारले बताए।

खाद्य सङ्कटको जोखिमबारे जिल्लास्थित अन्य सरोकारवालाले पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरूले भूकम्पका कारण खाद्यान्न पुरिएको र नयाँ उत्पादनले बाह्रै महिना खान नपुग्नुका साथै कमाउनेहरू पनि उद्धार तथा पुनर्निर्माणमा लाग्नु पर्दा खाद्य सङ्कट आउन सक्ने बताउँदै आएका छन् । राहत पनि जिल्लाका दुर्गम स्थानमा पुग्न नसकेको हुँदा भोकमरी आउन सक्ने उनीहरूको भनाइ छ ।

राहतका रूपमा आएको खाद्यान्न अब दुर्गम र भोकमरी हुन सक्ने स्थानमा समानुपातिक रूपमा वितरण गर्न उनीहरूले सुझाव दिए । स्थानीय छवि पन्तले आवश्यकता र दुर्गम स्थानमा अब आएको खाद्यान्नलगायत सामग्री वितरण गर्नुपर्ने बताए । उनले भोकमरीको जोखिम बढेको भन्दै जिल्ला विपत् व्यवस्थापन समितिले यसको पूर्वआकलन गरी जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्नेमा जोड दिए ।

जाजरकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कमानबहादुर खड्काले भूकम्पले जनधनका साथै रोजगारी गुमेको र खाद्य सङ्कट आउन सक्ने बताए। उहाँले जतिसक्यो छिटो अस्थायी पुनर्बासको व्यवस्था गरी रोजगारमूलक कार्यव्रmम ल्याउनसमेत सरोकारवालालाई आग्रह गरे।

 

प्रकाशित मिति : २०८० मंसिर ४ गते, सोमबार


Scroll to Top

Janata Media