इजरायली आक्रमणबाट गाजामा २८ को मृत्यु

जनता संवाददाता
२०८१ जेष्ठ ६ गते, आईतवार

गाजा । उत्तरी गाजापट्टिको जबलिया शिविरमा लगातारको इजरायली आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ ।

उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइलहरू प्रहार गरेका बताएका छन् ।

अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूहरू इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन्। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले हवाई र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा दर्जनौं व्यक्तिको मृत्यु भएको र सयौं हताहत भएका छन् ।

यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसअघि, गाजामा सशस्त्र प्यालेस्टिनी समूहहरूले तिनीहरूका सदस्यहरू जबलिया शिविरमा प्रवेश गर्ने इजरायली सेनासँग भयानक लडाइँ लडिरहेका बताएका थिए । एजेन्सी

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते, आईतवार


Scroll to Top

Janata Media