कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

जनता संवाददाता
२०८० मंसिर १७ गते, आईतवार

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँट गरेका छन् । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई विभागीय जिम्मेवारी तोकेका हुन् ।

मन्त्रिपरिषद् गठन भएको लामो समयसम्म मुख्यमन्त्रीले नियुक्त गरेका सबै मन्त्रीलाई जिम्मेवारी नदिई विनाविभागीय राखेका थिए ।

गत असोज २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोही दिन नेकपा (एमाले)बाट राम रानामगर र नेपाली कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गरेका थिए भने कात्तिक १७ गते मन्त्रिपरिषद् विस्तार गरी नेकपा (माओवादी केन्द्र) बाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गरेका हुन् ।

दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेको ३० दिनपछि मुख्यमन्त्रीले नियुक्त तीन जना मन्त्रीलाई आज (आइतबार) विभागीय जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्रीले कांग्रेसका शम्सेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका जबेगूलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रकाशित मिति : २०८० मंसिर १७ गते, आईतवार


Scroll to Top

Janata Media