निकुञ्जको संरक्षणमा हात्ती

जनता संवाददाता
२०८२ श्रावण २८ गते, बुधबार

काठमाडौं । निकुञ्ज संरक्षणका क्षेत्रमा सुरक्षाका दृष्टिले सबैभन्दा महत्वपूर्ण जनावर हात्तीको संरक्षण पहिलो सर्त हो । लोपोन्मुख वन्यजन्तुको संरक्षणदेखि यातायातका साधनका रूपमा समेत हात्तीको प्रयोग गरिने भएकाले पहिले यसको संरक्षण गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताए ।

हात्तीबिना निकुञ्जको सुरक्षा कल्पनासमेत गर्न सकिँदैन । बाघ नियन्त्रण, गैँडा गणना, सुरक्षाका सामग्री ढुवानी, सुरक्षा गस्तीलगायत काममा हात्ती नभई नहुने जनावर भएको उहाँले जानकारी दिए ।

मानव बस्तीमा पसेका तथा मानिसलाई आक्रमण गरेर लुकेका बाघलाई नियन्त्रण गर्न अहिलेसम्म हात्तीबाहेक अन्यबाट सम्भव नभएको उनले स्पष्ट पारे । “हात्ती भएन भने हामीले कुनै पनि हालतमा बाघलाई नियन्त्रण गर्न सक्दैनौँ,” उनले भने, “त्यसैले हात्तीको संरक्षण अपरिहार्य छ ।”

सबै वन्यजन्तुलाई संरक्षण गर्नु पर्दछ तर हात्तीको संरक्षण धेरै महत्वपूर्ण छ । बर्सातमा यातायातका लागि, बिरामीको उपचार गर्न लैजान, औषधी ढुवानी गर्न सबै कामका लागि हात्तीको उपयोग आवश्यक रहेको उनले बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले भने, “हात्ती संरक्षण गर्दा उसको मात्र होइन, अन्य जनावरको पनि संरक्षण हुन्छ ।” उनका अनुसार निकुञ्जको समग्र सुरक्षामा हात्तीको भूमिका रहन्छ ।

हामीसँग भएको वासस्थान अनुसार हात्तीको संरक्षण गर्न सक्नु पर्छ । तीक्ष्ण बुद्धिको जनवारका रूपमा रहेको हात्ती मानिसपछिको स्मरणशक्ति धेरै भएको जनावर हो ।

चोटपटकको समस्या

जङ्गल र जटिल स्थानमा हिँड्ने हात्तीमा चोटपटकको समस्या हुने गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिने गरेका हात्तीलाई सवारीसाधन नजाने स्थानमा समेत लैजाने गरिएको छ ।

जङ्गलमा हिँड्दा काँडा, घोच्ने विभिन्न सामग्री, रुखमा ठोक्किँदा लाग्ने चोटपटकले हात्तीमा घाउ लाग्ने गरेको वरिष्ठ पशुचिकित्सक विजय श्रेष्ठले बताए । “हात्तीमा हुने चोटपटकको समस्यामा कमी आउन सकेको छैन,” डाक्टर श्रेष्ठले भने, “नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र सौराहामा रहेको छ ।

यहाँ भएका हात्तीमा केही वर्षअघि क्षयरोगको समेत सङ्क्रमण थियो तर अहिले छैन ।” एउटा हात्तीको वजन चार हजार किलोसम्म हुने गर्छ । भारी वजनका कारण चोटपटक लागेमा निको बनाउन धेरै समय लाग्ने जानकारी दिँदै उनले भने, “हामीले उपचार गर्दै आएका छौँ तर पनि नियमित जङ्गल जानुपर्ने भएकाले समस्या निर्मूल पार्न कठिन हुने गरेको छ ।”

वासस्थानको समस्या

जङ्गल मासिँदै जाँदा हात्तीका लागि चुनौती थपिएको छ । प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार मानिसको चापले गर्दा विकास निर्माणका पूर्वाधारले जङ्गललाई असर पार्छ ।

हात्तीको वासस्थान नै मासिन थालेपछि चुनौती थपिएको हो । सौराहामा रहेको हात्ती प्रजनन केन्द्रमा सरकारी हात्ती ६० वटा रहेका छन् भने निजी हात्ती ४३ वटा छन् ।

सरकारी हात्ती निकुञ्जभित्र चरनका लागि जाने गर्छन् तर निजी हात्ती भने मध्यवर्ती क्षेत्रमा लगिन्छन् । जङ्गल विनाश हुँदै जानु हात्तीको वासस्थानमाथिको अतिक्रमण भएको प्रमुख संरक्षण अधिकृत पन्तले बताए ।

निजी हात्ती घट्दै

पाँच वर्षअघि चितवनको सौराहामा निजी क्षेत्रका ६८ वटा हात्ती पालिएका थिए । कोभिड–१९ का कारण पर्यटकको सङ्ख्यामा कमी, हात्तीको दानापानी पु¥याउन नसक्ने भएपछि अहिले ४३ वटामा झरेको छ । हात्ती पाल्नका लागि खर्च धेरै तर आम्दानीमा कमी भएपछि निजी क्षेत्रले हात्ती पाल्न छाडेको होटल व्यवसायी श्रीलाल परियारले बताए ।

“कोभिडअघि दुई वटा हात्ती थिए, अहिले एउटा मात्र पालेको छु,” उहाँले भन्नुभयो, ‘पहिलाको तुलनामा अहिले विदेशीहरू हात्ती चढ्न मान्दैनन् । पशुलाई दुःख दिन हुँदैन भन्दै हात्ती नचढ्ने बढ्दा जिप सफारी गर्ने धेरै भएका छन् ।”

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले भने, “पर्यटक आगमनमा कमी भएपछि त्यसको असर हात्तीमा परेको छ । धेरै पर्यटक आए हात्ती चढ्ने वृद्धि हुन्छन्, हात्ती चढ्ने नभएपछि पाल्नलाई समस्या हुँदै गएको हो ।”

प्रकाशित मिति : २०८२ श्रावण २८ गते, बुधबार


Scroll to Top

Janata Media