रुसी सेनामा भर्ना गराउने गिरोहका ११ जना प्रहरी नियन्त्रणमा

जनता संवाददाता
२०८० मंसिर २१ गते, बिहीबार

काठमाडौँ । पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वसुरक्षाकर्मी र बहालवाला सुरक्षाकर्मीलाई आर्थिक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गिरोहका नाइके हरिबहादुर विश्वकर्मा ९हरि विक० सहित ११ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पूर्वसैनिक विश्वकर्मासहित सुजाता दाहाल र ईश्वर अधिकारीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ । विश्वकर्मालाई ठमेलबाट र दाहाललाई दरबारमार्गबाट विभिन्न व्यक्तिका राहदानी, प्रवेशाज्ञा र अवैध रूपमा सङ्कलन गरिएको रकमसहित नियन्त्रणमा लिइएको परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौँ प्रहरीका डिएसपी अङ्गुर जिसीका अनुसार आरोपी विश्वकर्माले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

पक्राउ पर्ने अन्यमा काठमाडौँ जोरपाटीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनीष न्यौपाने, काठमाडौँ–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् । त्यस्तै बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार दाहाल कन्सल्टेन्सी सञ्चालक हुन् ।

रुस र युक्रेनबिच युद्ध चर्किएपछि रुसले विदेशी नागरिकलाई समेत सेनामा भर्ती खोलेपछि पूर्व तथा बहालवाला नेपाली सुरक्षाकर्मी गैरकानुनी बाटोबाटै रुस पुगेको पाइएको छ ।

गैरकानुनी रूपमा नेपाली नागरिक रुसी सेनामा भर्ना भएको पाइएपछि नेपाल सरकारले गत साउन ३२ गते प्रहरी प्रधान कार्यालयलाई यसबारे अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो ।

भारत, दुबईलगायत दोस्रो मुलुकबाट रुस पुगी गैरकानुनी रूपमा रुसी सेनामा भर्ना भएका छ जना नेपाली दुई पक्षको लडाइँका क्रममा मारिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो ।

रुसी सेनामा भर्ना हुने अधिकांश पूर्वसुरक्षाकर्मी रहेको खुलेको छ । प्रहरीले पक्राउ गरेका हरि विश्वकर्माले मात्र हालसम्म ११ जनालाई रुस पु¥याइसकेको र १५ जनालाई उडाउने प्रक्रियामा रहेको पाइएको छ । विश्वकर्माले पठाएकामध्ये दुई जना पूर्वसशस्त्र प्रहरी जवान र एक सर्वसाधारण रुसी सेनाले युद्धमा पठाउनुपूर्व तालिम गर्ने क्रममा भागेर नेपाल आउन सफल भएका थिए । अत्यन्तै कठिन र जोखिमपूर्ण तालिमबाट भागेर नेपाल आइपुगेका दुवै जनाको परिचय खुलाइएको छैन ।

अध्ययनका लागि विदेश पठाउने आवरणमा दरबारमार्गमा कन्सल्टेन्सी सञ्चालन गरी गैरकानुनी रूपमा रुस पठाउने गरेको खुलेपछि सुजाता दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दाहालको साथबाट प्रहरीले राहदानी, नगद र ल्यापटपलगायत बरामद गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते, बिहीबार


Scroll to Top

Janata Media