मृत्यु घोषणा नगरेको मेट्रो न्युरो अस्पतालको दाबी

जनता संवाददाता
२०८० मंसिर २६ गते, मंगलवार

इटहरी । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ । बरु उपचार नगर्ने भनी बिरामीको परिवारबाट कागजातमा सही गरेर लगेको पनि अस्पतालले जनाएको छ ।

तर मृत्यु भएको भनेर एक सयभन्दा बढी मलामीसमेत भेला भई दाहसंस्कारका लागि घाटमा लैजान लागेको अवस्थामा जीवित देखिएका प्रतापकी श्रीमती सीता सदाले सोमबार पनि अस्पतालले ‘आफ्ना पतिको मृत्यु भएको र उपचारका क्रममा लागेको खर्च अस्पताललाई बुझाएर शव लैजानु भनेको’ पुनः दाबी गर्नुभएको छ ।

सो अस्पतालका कार्यकारी प्रमुख सन्तोष मेहताले अस्पताल प्रशासनले उपचारको क्रममा रहेका प्रतापलाई सघन उपचार कक्षमा ९आइसियु० मा राखेर उपचार गरिएको तर कसैले पनि निजको मृत्युको घोषणा नगरेको बताए । बरु विपन्न परिवारमा रहेका निजको उपचारका लागि अस्पतालले ५० प्रतिशत छुट गरेको उनको दाबी छ ।

आफ्नो अस्पतालमा शवगृहसमेत नभएको र निजको उपचारका क्रमको सिसी क्यामराको भिडियो पनि रहेको उनको भनाइ छ । उनले आकस्मिक कक्षमा भर्ना गरिएका प्रतापको प्रारम्भिक उपचारमा फिजिसियन चिकित्सक दिनेश न्यौपाने खटिनुभएको र पछि उनलाई आइसियुमा भर्ना गरिएको बताउँदै आफ्नो अस्पतालको बदमान गर्ने उद्देश्यले सो घटना प्रायोजित रूपमा घटाइएको कार्यकारी प्रमुख मेहताको भनाइ छ ।

अस्पतालले मृत घोषणा गरी उपचार खर्च लिएर पठाइएका प्रतापको अन्तिम संस्कारका लागि चिता, कात्रोलगायतका सामग्री जुटाएर मलामीसमेत भेला भई घाट लैजान लागेको व्यक्ति जीवितै रहेको पाइएको थियो । उनले जिप्रकामा सोही विवरणको कागज बुझाउनुभएको सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

सीताले प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पतिको मृत्यु भएको र उपचारको रकम बुझाएर शव लानु भनेपछि आफन्त र छिमेकीलाई खबर गरी दाहसंस्कारका लागि तयारी गरिएको बताए ।

उनले आफ्ना जीवित पतिलाई मृत्यु भयो भनी अस्पतालले लापरबाही गरेको दाबी गर्दै त्यस सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा उपचारका क्रममा भएको खर्चलगायत क्षतिपूर्तिका लागि मागसमेत गरे ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते, मंगलवार


Scroll to Top

Janata Media