काठमाडौँ । तराई मधेश आन्दोलनको क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको घटनामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलाको विरुद्ध जलेश्वरमा शान्तिपूर्ण प्रर्दशन गरिएको छ ।
जिल्ला अदालत महोत्तरीले बिहीबार विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेको हो । प्रर्दशनकारीहरुले जिल्ला अदालतको फैसला पक्षपातपूर्ण र अन्यायपूर्ण भएको भन्दै विरोध जनाएको हो ।
बिहीबार साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धव प्रसाद भट्टराईको ईजलाशले महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र विकको हत्या आरोपमा पक्राउ परि पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाई दिने तथा हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशंकर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी हत्याको आरोपमा कारागारमा रहेका प्रदिप साह र संजय कुमार साहलाई समेत जन्मकैदको फैसला भएको हो ।
लोसपाका सयौं नेता तथा कार्यकर्ताहरु जलेश्वरमा मधेश आन्दोलनमा झुठो मुद्दा लगाएको र अदालतले पक्षपातपूर्ण आदेश गरेको भन्दै शुक्रबार विरोध जनाउँदै प्रर्दशन गरेको हो। प्रर्दशनमा महोत्तरी र धनुषाका लोसपाका पार्टीका सांसदहरु तथा पालिकाका प्रमुखहरुसहित नेता कार्यकर्ताहरुको उपस्थिती थियो । बिहीबार भएको फैसलामा कर्तव्य ज्यान सम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैदको सजाय भएको तथा दुई जना अभियोग दावीबाट सफाई पाउने देखिएको उल्लेख गरिएको छ ।
जिल्ला अदालत महोत्तरीमा दायर अभियोग पत्र अनुसार कर्तव्य ज्यान अभियोगमा २८ तथा एम्बुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कर्तव्य ज्यानको अभियोगमा अन्य फरारको सूचीमा रहेको जनाइएको छ ।
सशस्त्र प्रहरीको पथलैया बाहिनीबाट यु।एन।को मिसनमा जानका लागि परिक्षा र तालिम सकाएर फर्केका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मा आफू कार्यरत सशस्त्र प्रहरी सीमा सुरक्षा वल जलसागर जाने क्रममा भदौ २५ गते जलेश्वर नगरपालिका चोकमा आन्दोलनकारीको एक समूहले बाँसको भाटा र इट्टाको टुक्रा प्रहार गरी निर्मम तरिकाले घाईते बनाएका थिए । घाइते भएका विकलाई प्रारम्भिक उपचारपश्चात थप उपचारको लागि जनकपुर लाने क्रममा महोत्तरी गाविसको सनुखरा ९ स्थित सडकमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो ।
आन्दोलनकारीहरुले उनी चढेको जलेश्वर अस्पतालको ६६–१–१२३५ एम्बुलेन्स जलाएका थिए भने घाईते विकको शव एम्बुलेन्स जलेको ठाउँबाट १ किलोमिटर पूर्वको धान खेतमा वरामद भएको थियो । ज्यान जोगाउन भाग्ने क्रममा उनको हत्या गरिएको थियो ।
नेपालगञ्ज निवासी विकको हत्या अगाडी मधेश आन्दोलनको क्रममा भदौं २३ गते प्रहरीको गोली लागेर तिन तथा त्यसको दुई दिन नबित्दै २५ गते तीन जनाको गरी ६ जनाको मृत्यु भएको थियो । मृतक थमन विकको पत्नी शोभा विकले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए ।







