सगरमाथा छिटो चढ्ने महिला बनिन् फुन्जो

जनता संवाददाता
२०८१ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौँ । गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाएकी छन् । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अनुसार ३३ वर्षीया लामा आधार शिविरबाट १४ घण्टा ३१ मिनेट लगाएर बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुगेकी हुन् ।

अनुगमन कार्यालयका प्रमुख खिमलाल गौतमले भने, “आरोही लामाले सगरमाथा आधार शिविरबाट आरोहण सुरु गरेर पुनः आधार शिविरमा आइपुग्दा २४ घण्टा ३६ मिनेट लगाएकी छन् । उनी आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुगेकी हुन् ।” उनी बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर बुधबार बिहान ६ बजेर २३ मिनेटमा चुचुरोमा पुगेकी हुन् ।

पर्यटन विभागका अनुसार आरोही लामा चुमनुब्री गाउँपालिका–७, छेकम्पार गोरखाकी स्थायी बासिन्दा हुन् । यसअघि उनले सन् २०१८ मा ३९ घण्टा ६ मिनेट लगाएर सगरमाथाको आरोहण गरेकी थिईन् । विभागका अनुसार सन् २०२१ मा हङकङकी स्याङ यिन हङ (आडा) ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिज बुकमा नाम लेखाएकी थिईन् । जुन रेकर्ड आरोही लामाले तोडेकी छन् ।

विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार जापानका महिला आरोही जुन्को ताबेईले सर्वप्रथम २०३२ जेठ २ गते पहिलो महिला आरोहीका रूपमा सगरमाथा आरोहण गरेकी थिईन् ।

त्यस्तै गरी न्युजिल्यान्डका महिला आरोही लिडिया ब्राडेले २०४५ असोज २८ गते महिलातर्फ बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने महिलाका रूपमा कीर्तिमानी राखेकी थिईन् ।

पुरुषतर्फ भने सर्वप्रथम २०६० जेठ १२ गते लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण पूरा गरेकी थिईन् । त्यसको एक वर्षपछि उनको रेकर्डलाई पेम्बादोर्जे शेर्पाले २०६१ जेठ २१ गते आठ घण्टा १० मिनेटमा आधार शिविरदेखि चुचुरोसम्म पुगेर नयाँ रेकर्ड राखेको दावी गरेपनि प्रमाण अभावका कारण अदालतले खारेजी गरेको थियो ।

यसैबिच बिनाअक्सिजन सगरमाथा आरोहणका क्रममा बुधबार राति ४० वर्षीय केन्याका नागरिक जोसुवा चेरुयोट (अक्सिजनसहित) र उनको साथमा रहेका नेपाली गाइड लिखु पिके गाउँपालिका–६ का ४४ वर्षीय ङवाङ शेर्पाको मृत्यु भएको विभागले जनाएको छ ।

उहाँहरू दुवै जना बुधबार राति सगरमाथा चुचुरो नजिक मृत अवस्थामा फेला परेकी हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते, शुक्रबार


Scroll to Top

Janata Media