काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताएका छ । गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको उनले सुझाव दिए । सरकारी सञ्चारमाध्यमप्रति पाठकको हेर्ने दृष्टिकोण अझै सरकारी नै भएको चर्चा गर्दै उनले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताए । धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले गर्न सक्नुपर्छू मन्त्री शर्माले भने ।
उनले थपे, “अहिलेसम्म भएको कामको समीक्षा गर्दै आगामी दिनमा गोरखापत्र र दि राइजिङ नेपालका सामग्रीलाई विशेष ध्यान दिएर अगाडि बढ्नुहोला । त्यसका लागि सरकार र मन्त्रालयबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सरकार तयार छ ।”
“तपाईंहरु आफ्नो जिम्मेवारीप्रति इमानदार भइदिनुस्, सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदार प्रयास गर्नेछ” उनले भने । सो अवसरमा मन्त्री शर्माले सरकारी सञ्चार माध्यमबाट नागरिकको ठूलो अपेक्षा रहने भएकाले आवाजविहीनको आवाज बन्न गोरखापत्र संस्थानका प्रकाशनहरु सक्नुपर्ने उनले सुझाव दिए ।
मन्त्रालयका सचिव कृष्णबहादुर रावतले सरकारी सञ्चार माध्यमप्रति नेपाली जनता र आम पाठकको ठूलो अपेक्षा रहेकाले गुणस्तरीय सामग्री उत्पादन गर्न आग्रह गरे । जनतालाई बाटो देखाउने खालका पाठ्यसामग्री पस्कन उनले आग्रह गरे । गोरखापत्र संस्थानका प्रकाशनहरु समयअनुसार प्रतिस्पर्धी बनिरहे पनि अझै परिपक्व र गुणस्तरीय बनाउन आवश्यक रहेको उनले सुझाव दिए । कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सरकारी सञ्चार माध्यमले पस्किने सामग्री गुणस्तरीय र विश्वसनीय बनाउन चुनौती रहे पनि संस्थान टिम त्यसमा सक्रिय रहेको बताए । मन्त्रालयले गरेको अपेक्षाअनुरुप संस्थानको सिङ्गो टिम सक्रिय रहेको चर्चा गर्दै उनले संस्थानका प्रकाशन आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।
पूर्वाधारका हिसाबले गोरखापत्र संस्थान निकै कमजोर रहे पनि भएको पूर्वाधारको सही सदुपयोग गरी संस्थानका प्रकाशनलाई बजारमा प्रतिस्पर्धी बनाइरहेको उनले जानकारी दिए । गोरखापत्र संस्थानका प्रकाशन निरन्तर राज्यलाई गुन लगाउँदै आएको बताउँँदै अध्यक्ष सुवेदीले भौतिक पूर्वाधारमा सबल बनाउन सरकार र मन्त्रालयले ध्यान दिनुपर्ने उनले आग्रह गरे । कम्तीमा संस्थानको भवन पुनर्निर्माणको कामलाई प्राथमिकतामा सरकारले राखिदिनुपर्छ, संस्थानका कर्मचारीहरु जोखिमयुक्त भवनबाट कामकाज गर्न बाध्य रहेको उनले बताए । जोखिम मोलेर कर्मचारी तथा पत्रकारले काम गरिरहेको उनले जानकारी गराए ।
नयाँ भवन पुनर्निर्माण गर्ने स्रोत संस्थानसँग नरहेकाले सरकारले त्यसको स्वामित्व लिनुपर्ने उनले आग्रह गरे । आगामी बजेटमा त्यसलाई पार्न पनि उनले मन्त्रालय र सरकारसँग आग्रह गरे । सुविधा सम्पन्न भौतिक पूर्वाधार संस्थानले पाएमा काम सहज ढङ्गले गर्न पाउने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनले आशय व्यक्त गरे । आर्थिक मन्दिका बाबजुद संस्थानले आफ्नो विक्री र विज्ञानमा बढोत्तरी गरेको उनले जानकारी गराए ।
गत आर्थिक वर्षमा ७२ करोड आम्दानी गरेको जानकारी गराउदैँ अध्यक्ष सुवेदीले आगामी दिनमा यसलाई अझ राम्रो परिणाम निकाल्नेतर्फ संस्थान लागिपरेको उनले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राज्य उदार नरहेको अवस्थामा गोरखापत्र र अंग्रेजी भाषाको दि राइजिङ नेपालको प्रकाशन सुरु भएको चर्चा गर्दै राइजिङ दैनिकले नागरिकको विश्वास जगाउने काम गरेको बताए । अंग्रेजी भाषाको माध्यमबाट नेपालका गतिविधिलाई विश्वमा चिनाउन राइजिङ नेपालको अतुलनीय योगदान रहेको छ, अहिले अंग्रेजी भाषाका पाठकको संख्या बढ्नुले यसको लोकप्रियता पनि बढाएको छ, उनले भने । गोरखापत्रले डिजिटल प्रकाशनलाई पनि अगाडि बढाउने अभियानलाई तिव्र बनाएको छ ।
सो अवसरमा मन्त्री शर्मा तथा सचिव राउतलाई मायाको चिनो प्रदान गरिएको थियो । संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले उहाँहरुलाई संस्थानको प्रथम प्रकाशनलाई मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।
दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले सत्य तथ्यको आधारमा जनतालाई सुसूचित गर्ने प्रकाशनको प्रमुख उद्देश्य भएको बताए । दि राइजिङ नेपालको सामग्री पढेर जनताहरु सुसूचित भइरहेको र आगामी दिनमा थप परिस्कृत र पठनीय सामग्री पस्केर जनताको सेवा गर्न अङ्ग्रेजी दैनिक तयार रहेको उनले बताए । समयसापेक्ष सुधार गरी सरकारको सुशासनको अभियानमा योगदान दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
दि राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाको सभापतित्वमा भएको वार्षिकोत्सव उदघाटनसत्रमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, सम्पादक सल्लाहकार उपेश महर्जन, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्यहरु, गोरखापत्र संस्थानका प्रकाशनका सम्पादकहरु, विभागीय प्रमुखहरु तथा कर्मचारीको सहभागिता थियो ।







