काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयमता अपनाउँदै राष्ट्रिय सम्पत्तिको संरक्षणमा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
उनले सोमबार जारी गर्नुभएको अपिलमा आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । “देशका लुटेराहरु कानुनी दायरामा आउने क्रम जारी छ । उनीहरूले तीन पुस्तासम्म लुटेर जोडेको सम्पत्ति राष्ट्रको हो, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ,” उनको भनाइ उद्धृत गरिएको छ ।
सभापति लामीछानेले सुरक्षा निकाय, न्यायालय र अन्य महत्वपूर्ण दस्तावेजलाई मुलुकका संवेदनशील सम्पत्ति भन्दै यसको संरक्षण गर्न सबैलाई सचेत रहन आह्वान गरेका छन् । “सरकारी सम्पत्ति क्षति हुँदा राष्ट्रकै सम्पत्तिमा क्षति पुग्छ । त्यसैले यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो,” उनले भने ।
यो आन्दोलनलाई उनले ‘शुद्ध जेनजीको आन्दोलन’ भन्दै मुलुकको नेतृत्व अब यही पुस्ताको माग र परिकल्पनाअनुरूप अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आफू सधैं नागरिक सर्वोच्चताको पक्षमा रहने स्पष्ट पार्दै उनले आम नागरिकलाई संयमित रहन अपिल गरेका हुन् ।
उनले थपे, “आम नागरिकको दबाबपछि सरकारले कानुनबमोजिमको प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई नागरिक सामु आएको हुँ । मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रियाका लागि म सदैव तयार छु ।”







