कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

जनता संवाददाता
२०८० पुष १६ गते, सोमबार

काठमाडौं । कोशी प्रदेश प्रधानमन्त्री कप टी२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो ।यसअघि एपीएफ पहिलो क्वालीफायरमा कोशीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।सुदूरपश्चिम प्रदेशले एलिमिनेटर राउन्डमा बागमति प्रदेशलाई स्तब्ध बनाउँदै दोस्रो क्वालीफायरमा स्थान बनाए पनि फाइनलमा पुग्न असफल रह्यो ।

काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ७ विकेट गुमाएर ८८ रन बनाएको थियो ।जवाफी ब्याटिङ गरेको कोशी प्रदेशले १३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन जोडिन् । त्यस्तै, विन्दू रावलले १७ रन, कविता जोशीले १५ रन, रुविन पोद्दार र अनु कडायतले समान ७–७ रन बनाए ।कोशीका लागि संगिता राईले सर्वाधिक २ विकेट लिँदा सबनम राई, निशा शाह र एलिशा खडियाले १–१ विकेट लिए ।

८९ रनको सामान्य लक्ष्य पछ्याएको कोशीले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटको रुपमा कप्तान रुविना क्षत्री र काजल श्रेष्ठको बिचमा ५९ रनको साझेदारी गरेका थिए ।रुविना ३७ रन बनाएर आउट हुँदा अन्त्यमा काजल श्रेष्ठले ३८ तथा अप्सरी बेगमले १२ रनको नटआउट पारि खेले । सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मी साउदले १ विकेट लिइन् ।

प्रकाशित मिति : २०८० पुष १६ गते, सोमबार


Scroll to Top

Janata Media