२४ लाखसहित नेपालगन्ज विमानस्थलबाट पाँच भारतीय पक्राउ

जनता संवाददाता
२०८१ श्रावण २४ गते, बिहीबार

बाँके । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई नेपालगन्ज २० स्थित राँझा विमानस्थलबाट बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारतका ४४ वर्षीय प्रकाशनारायण गुप्ता, सोही ठेगाना भएका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय अशिष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय विमल गुप्ता रहेको उनले जानकारी दिए ।

नेपालगन्जबाट काठमाडौँ उड्न लागेका उनीहरूलाई विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो । उनीहरूलाई हुण्डी कारोबार सम्बन्धी कसुरमा बिहीबार बाँके जिल्ला अदालतबाट चार दिनको म्याद थप लिई अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ श्रावण २४ गते, बिहीबार


Scroll to Top

Janata Media