हुम्लाको ताँजाकोटमा नेपाल टेलिकमको 4G सेवा सञ्चालन

जनता संवाददाता
२०८० पुष १७ गते, मंगलवार

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेपाल टेलिकमको 4G सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलि रहेका ताँजकोट गाउँपालिका दुर्गम गाउँमा 4G सेवा सञ्चालनमा आएको हो ।

मंगलबारदेखि ताँजाकोट गाउँपालिकाका लगायतका बाजुरा र मुगु आसपासका सबै गाउँमा 4G सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् ।

गाउँमै 4G सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

‘इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्यूसँगको निरन्तरको समन्वय पश्चात फाष्टट्राकमा यो काम सम्पन्न गर्न लागेका हौं’ अध्यक्ष जैशीले थपे, ‘फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको काम समेत सहज हुने भएको छ ।’

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोटबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन् । ताँजाकोटका ५ वटै वडा कार्यालयमा फोरजी सहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि रहेको ताँजाकोट गाउँपालिकाले जनाएको छ ।

इन्टरनेटको समस्याले नेटबाट हुने कार्यालयका काम, बजेटको भुक्तानी, बैंकको काममा निकै सुस्तता आएर हैरानी खेपिरहेका बेला सञ्चालनमा आएको फोर जि सेवाले ताँजाकोट र आसपासका क्षेत्रका कामहरु छिटोछरितो हुनुका सार्थै गाउँबाटै विभिन्न क्षेत्रका तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाटका काम सञ्चालन गर्न सजिलो हुने पालिका अध्यक्ष जैसीले बताए ।

यसअघि ताँजाकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने समस्याबाट छुट्कारा मिलेको छ । ताँजाकोट गाउँपालिका अध्यक्ष जैसी निर्वाचित भए लगतै एक बर्षपछि उनको पहलमा ताँजाकोट गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजकोट गाउँपालिकाका निमीत प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताए ।

टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको हो ।

प्रकाशित मिति : २०८० पुष १७ गते, मंगलवार


Scroll to Top

Janata Media