योजना मिलाईदिने भन्दै बिर बहादुर रोकायाले लिए झण्डै ४ लाख कमिशन

जनता संवाददाता
२०८० पुष २५ गते, बुधबार

काठमाडौँ । योजना मिलाईदिने भन्दै बिर बहादुर रोकायाले करिब ४ लाख कमिशन लिएको खुलेको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ६ बराँइ स्थायी ठेगाना भएका रोकायाले विभिन्न दुई जना व्यक्तिबाट योजना मिलाईदिने आश्वासन दिएर कमिशन लिएको खुलेको हो ।

उनले हुम्लाको अदानचुली गाउँपालिका वडा नं ६ स्थायी घर भएका रुपदन बुढाबाट रु. १,६०,०००/- (एक लाख साठी हजार) र सर्केगाड गाउँपालिका वडा नं १ स्थायी घर भएका शुभराज रोकायाबाट रु. २,०५,०००/- (दुई लाख पाँच हजार) लिएको देखिएको छ ।

रोकायाको एभरेष्ट बैङ्कमा रहेको खाता नम्बर ०३१००५१६२०११४२ मा २०७८।०८।०१ गते रुपदन बुढाको नामबाट रु ९९,०००/-(उनान्सय हजार) र सोहि खातामा शुभराज रोकायाबाट २०७८।०८।२८ गते रु.१,००,०००/-(एक लाख) र शुभराज रोकायाकै नामबाट सोहि खातामा रु.१,०५,०००/-(रु एक लाख पाँच हजार) जम्मा भएको देखिएको छ । बाँकी एक लाख नगद नै दिएको उनीहरुले बताएका छन् ।

त्यसपछि रोकायाले रुपदन बुढालाई पैसा फिर्ता गर्ने भन्दै आफ्नो सिटिजन्स बैङ्कमा रहेको खाता नम्बर ०२७०१०००००१४६०२७ बाट मिति २०७९।०९।२० गते रु. १,६०,०००/-(एक लाख साठी हजार) को चेक दिए तर खातामा पर्याप्त रकम थिएन ।

योजना मिलाईदिने प्रलोभनमा पारेर रोकायाले आफ्नो खातामा पैसा हाल्न लगाएको तर दुई वर्ष बितिसक्दा पनि सम्पर्कबिहिन भएको पिडित रुपदन बुढाले बताए । ‘म लगायत अरु साथीहरुलाई बिर बहादुर रोकायाले योजना मिलाईदिने र विभिन्न प्रलोभन देखाएर कमिशन मागे । पैसा दिएको झण्डै दुई वर्ष भईसक्यो । अहिलेसम्म न पैसा फिर्ता दिएको छ न योजना नै मिलाईदिएको छ । उल्टै भोलि पेसा फिर्ता गर्छु भन्दाभन्दै टारेको छ ।’ उनले जनता मिडियासँग पिडा पोखे ।

आरोपित रोकायाले आफूले उनीहरुबाट गैरकानुनी रुपमा आफ्नो खातामा पैसा जम्मा गर्न लगाएको र फिर्ता गर्ने पनि बताए । उनी बुद्ध एयर सुर्खेत विमानस्थलमा कार्यरत कर्मचारी हुन् । उनी कर्णालीका नेताहरुसँग नजिक छन् । रोकाया अहिले सम्पर्क विहिन छन् ।

प्रकाशित मिति : २०८० पुष २५ गते, बुधबार


Scroll to Top

Janata Media