कान्तिपुरसँग साझेदारी नगर्न सरकारलाई पत्रकार महासंघको पत्र

जनता संवाददाता
२०८० माघ २५ गते, बिहीबार

काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसँग साझेदारीमा कार्यक्रम नगर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिवलाई पत्र पठाएको छ।

महासंघका सचिव गोविन्द चौलागाईंले हस्ताक्षर गरेको पत्रमा कान्तिपुरले पत्रकारको नियमित तलब(सुविधा नदिएको र श्रमजीवी पत्रकार ऐन समेत लागू नगरी त्यहाँ कार्यरत पत्रकारको श्रम शोषण गरेकाले कान्तिपुर दैनिकसँग साझेदारीमा कार्यक्रम नगर्न भनिएको हो। कान्तिपुर मिडिया ग्रुपले गर्न लागेको ‘कान्तिपुर इम्प्लोयमेन्ट माइग्रेसन एन्ड रेमिट समिट २०२४’ को साझेदारका रूपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यस मातहत विभिन्न निकाय रहेका छन् । कान्तिपुरमा कार्यरत पत्रकारलाई कानुनले तोकेअनुसार सुविधा दिलाउने पहल गर्न श्रम सचिवलाई महासंघले अनुरोध गरेको छ।

कान्तिपुरमा भएको सम्झौता र श्रमको अवस्थाको जानकारी दिन भनेर लेखिएको पत्रमा भनिएको छ– ‘नेपाल सरकारले बनाएको कानुन उल्लंघन गर्दै श्रम शोषण गर्ने मिडियालाई नेपाली जनताबाट उठाएको कर पक्षपोषण गर्न होइन भन्ने हाम्रो ठहर छ।’

कान्तिपुरले तीन महिनादेखि पत्रकारलाई तलव नदिएको, पत्रकारलाई कानुन बमोजिम स्थायी नगरेको, नियमित तलब वृद्धि, औषधि-उपचार खर्च, सञ्चय कोष लगायत सुविधा नदिएको भन्ने गुनासो आएको र महासंघसँग यसअघि भएका सहमति कार्यान्वन नगरेको पनि महासंघले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार


Scroll to Top

Janata Media