विश्व सामाजिक मञ्चको भेला फागुनमा

जनता संवाददाता
२०८० माघ २५ गते, बिहीबार

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौंमा विश्व सामाजिक मञ्च २०२४ आयोजना गर्ने भएको छ ।

उक्त विश्व भेला नेपालमा पहिलो पटक हुन लागेको हो । विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले काठमाडौंमा एक कार्यक्रम गरेर विहीबार जानकारी दिएको हो । मञ्चको उदघाटन समारोह फागुन ३ गते काठमाडौंको भृकुटीमण्डपमा गरिने छ ।यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन् । फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि कार्यक्रम आयोजना हुनेछ ।

विश्व सामाजिक मञ्चको महत्व र प्रक्रियाका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिँदै मञ्चका सदस्य डा। नेत्र तिमिल्सिनाले भने, ‘अफ्रिका, क्यानडा, अमेरिका, अष्टेलियातिरबाट पनि प्रतिनिधिहरु हामीले आशा गरेभन्दा धेरै आउँदैछन् । अहिले काठमाडौंमा मध्यमस्तरका होटलहरु बुकिङमा छन् । कार्यक्रममा सहभागी हुन आउनेको ट्रेण्ड के देखिन्छ भने पन्ध्र बीस दिनदेखि एक महिनासम्म नेपाल बसेर नेपाललाई बुझ्ने देखिन्छ ।’

तिमिल्सिनाका अनुसार कार्यक्रमको तयारी तिब्र पारिएको छ । समग्र तयारी तथा व्यवस्थापनका लागि नेपाल आयोजक समिति बनाइएको छ । ११ वटा उप समितिहरु गठन गरि क्रियाशील छन् ।
मञ्चमा १३ विधा

मञ्चमा १३ वटा विषयगत विधाहरु रहने छन् । जसमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आपवासन, दासत्व र मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान, भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत, शान्ति,युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा, शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानता, लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानून र न्याय, स्वास्थ्य, सामाजिक संरक्षण र समानता, जलवायु पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास, महिला, बालबालिका, युवा, जेष्ठ नागरिक र आपाङ्गता भएका व्यक्तिहरू, सामाजिक आन्दोलन, नागरिकको भूमिका आदिका बारेमा समूहगत छलफल र अन्तरक्रिया गरिने आयोजकको तयारी छ ।

९१ देश, चारसय कार्यक्रम
आयोजकले दिएको जानकारी अनुसार उल्लेखित विषयमा छलफल र अन्तरक्रिया लागि आधारित चार सयवटा कार्यक्रमहरु दर्ता भएको छ । कार्यक्रममा हालसम्म ९१ देशका १ हजार १६५ वटा संस्थाहरुले सहभागीताको लागि दर्ता भएको जनाइएको छ । करिव ५० हजार मानिसको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको विध्वंशलगायतका समस्याका बारेमा बोल्दै विश्व सामाजिक मञ्चले नयाँ विश्व बनाउनका लागि गम्भीर बहस सिर्जना गर्ने तिमिल्सिनाले बताए । विश्व सामाजिक मञ्च नवउदारवादको विकल्पमा विचार र अनुभवको आदान प्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो । नवउदारवादी विश्वव्यापीकरणले पारेको विनाशकारी प्रभावको विकल्पका बारेमा गम्भीर बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक विश्व सामाजिक मञ्च आयोजना गरिएको थियो ।

यसले नवउदारवाद, भूमण्डलीकृत पुँजीवाद, जलवायु संकट, पितृसत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरुको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ ।

फागुन तीन गते बिहान एघार बजे सोलिडारिटी मार्च ९ऐक्यवद्धता र्याली० निकालेपछि एक बजेतिर कार्यक्रमको अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको औपचारिक उद्घाटन गरिने आयोजकको भनाई छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार


Scroll to Top

Janata Media