नगर विकास समितिका अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८० माघ २५ गते, बिहीबार

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका– १ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित दुई सय ४९ जनाविरुद्ध सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको सङ्लग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा सो कार्य गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम प्रतिवादी जोशीलाई बिगो दुई करोड १२ लाख ४० हजार ९४४ रुपियाँ कायम गरी कैद तथा जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ ।

यस्तै, समितिका तत्कालीन अध्यक्षहरु ललित ताम्राकार, धीजराज रेग्मी, तत्कालीन योजना प्रमुखहरु बलबहादुर कडायत, झप्पर सिंह विश्वकर्मा, तत्कालीन सदस्य सचिव अम्बादत्त जोशी, तत्कालीन नापी अधिकृतहरु मान बहादुर चन्द, गणेश बहादुर बम, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, समितिका खरीदार धनीराम भण्डारी, सब ओभरसियर नेब बहादुर रावल, तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरे लगायत दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार


Scroll to Top

Janata Media