३ महिनादेखि कालिकोटमा बिरामी छ, सर्केगाडको बिरामी बोक्ने एम्बुलेन्स

जनता संवाददाता
२०८० फाल्गुन १ गते, मंगलवार

कालिकोट । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले अनुदान स्वरूप हुम्लाको सर्केगाड गाउँपालिकालाई बिरामी बोक्न भनेर दिएको एम्बुलेन्स अहिले आफैं बिरामी अवस्थामा छ।

कर्णाली प्रदेश ००१ झ ०११९ नम्बरको सो एम्बुलेन्स अहिले हुम्लामा नभई कालिकोटको जितेगडा भन्ने ठाउँमा अलपत्र छ। सर्केगाड गाउँपालिकासँग भएको यही एउटा मात्र एम्बुलेन्स हो। पालिकामा अन्य एम्बुलेन्स सुविधा उपलब्ध छैन।

आपत्कालीन समयमा बिरामीलाई शीघ्र उद्धार र उपचारमा प्रयोग एम्बुलेन्स नै विगत तीन महिना देखि बिग्रिएर थन्किएको छ। जसले यहाँका स्थानीयहरूलाई आपत्कालीन समयमा झनै समस्या हुने गरेको छ। उसै त विकट त्यहीँ माथि भएको एम्बुलेन्स पनि थन्किँदा समस्या हुने गरेको स्थानीय बताउँछन्।

एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन पालिकामा कसैले जोड नदिएको एम्बुलेन्स चालक कमल ऐडी बताउँछन्। एम्बुलेन्स मर्मतका लागि आफूले पहल गरेको भएता पनि कुनै सुनुवाई नभएको उनको आरोप छ। उनले एम्बुलेन्स कालिकोटमा भएको जानकारी दिए।

उनी भन्छन् ‘दुई वर्ष भो मैले तबल सुविधा पाएको छैन। एम्बुलेन्स बनाउन पालिका अध्यक्षलाई फोन गर्दा कहिल्यै रिसिभ हुदैन्।’

यता गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले भने एम्बुलेन्स मर्मतका लागि आफूले सक्दो पहल गरिरहेको बताउँछन्। उनले एम्बुलेन्स तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाए।

‘एम्बुलेन्स घेरै बिग्रिरहन्छ, यसभन्दा पहिला पनि बिग्रिएर ८० हजार भन्दा बढी खर्च भइसकेको छ। यसलाई तत्काल मर्मत गरेर हुन्छ वा नयाँ एम्बुलेन्स नै किनेर हुन्छ हामी जनता सेवा सुविधा दिन प्रतिबद्ध छौं।’ उनले जनता मिडियासँग भने।

उनले एम्बुलेन्स घेरै बिग्रिरहने हुँदा पालिकाका  लागि नयाँ एम्बुलेन्स समेत किन्ने छलफल चलिरहेको जानकारी दिए।

एम्बुलेन्स विना आपत्कालीन समयमा बिरामीहरूको कसरी उद्धार गरिरहनुभएको छ भन्ने हाम्रो प्रश्नमा उनले आफूहरुको मात्र नभई सबै पालिमा यस्तै भएको जवाफ दिए।

एम्बुलेन्सको तेल ट्याङ्की र स्टक राख्ने गरिएको टायर गाडीमा छैन।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते, मंगलवार


Scroll to Top

Janata Media