क्यानडालाई एक दिवसीय सिरिज

जनता संवाददाता
२०८० फाल्गुन १० गते, बिहीबार

काठमाडौं । नेपाल ‘ए’ विरुद्ध तीन खेलको एक दिवसीय सिरिज क्यानडाले जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हरायो ।

क्यानडाले सिरिज २–१ ले कब्जा गरेको हो । यसअघि पहिलो खेलमा क्यानडा चार विकेट तथा दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो । जितका लागि एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८।५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।क्यानडाका लागि निकोलस किर्तोनले ५८ रन बनाए ।

आरोन जोनसनले ४२, नवनित धनिवालले ३८ र निखिल दत्तले १४ रन बनाए । बलिङमा नेपालका साहब आलमले चार विकेट लिए । शेर मल्ल र बसिर अहमदले एक एक विकेट झारे ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो ।

नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए । यस्तै अर्जुन कुमालले २७, बसिर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले समान १९ रन बनाए । बलिङमा क्यानडाका डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष ठेकरले दुई दुई विकेट लिए । कप्तान सादविन जफर र कलिम सानाले एक एक विकेट लिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते, बिहीबार


Scroll to Top

Janata Media