हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाले निर्माण सम्पन्न भईसकेका र निर्माण सुरु भईरहेका आयोजना तथा विकास निर्माणका कामहरुको अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक सुरेन्द्र बहादुर थापाको नेतृत्वमा अनुगमन भएको हो ।
उपाध्यक्ष थापाको नेतृत्वमा गरिएको अनुगमनमा वडा नं १ मा मुख्यमन्त्री रोजगार अन्तर्गत २० लाख बजेटमा निर्माण सम्पन्न भएको सामुदायिक स्वास्थ्य इकाईको घेरबार, प्रधानमन्त्री रोजगार अन्तर्गत वडा नं १ मै रहेको बाल शिक्षाको घेरबारको अनुगमन गरिएको छ । यस विषयमा अनुगमनमा वडा नं १ का वडाध्यक्ष मोहन लाल रिठाल पनि उपस्थित थिए ।
वडा नं ३ मा निर्माण भईरहेको स्थानीय विकास कार्यक्रम अन्तर्गत जैरम खोया पलऔँ स्याऊ फार्मको अनुगमन वडाध्यक्ष राजेन्द्र बहादुर शाहीको उपस्थितिमा संयोजक थापाको नेतृत्वमा अनुगमन गरिएको हो ।
वडा नं ४ मा निर्माण भईरहेको प्रधानमन्त्री रोजगार अन्तर्गत घेरबार, जनप्रकाश माध्यामिक विद्यालयको निर्माण भईरहेको आरसिसी ढलानयुक्त पक्कि भवनको समपुरक अनुदान, शसर्त अनुदान र संघ, प्रदेश र स्थानीय गरी तिनै तहको समन्वयमा निर्माणाधिन भवनको वडाध्यक्ष राज बहादुर बोगटीको उपस्थितिमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उपाध्यक्ष थापाले अनुगमन एकदमै चुस्त दुरुस्त रुपमा गर्ने र आवश्यक प्रक्रिया पुरा नगरेका तथा समयमा निर्माणमा सम्पन्न नभएका आयोजनाका कामहरुको भूक्तानीका लागि सिफारिस नगर्ने बताएका छन् । ‘गाउँपालिका अन्तर्गत मेरो कार्य क्षेत्रको एक हिस्सा अनुगमन हो । यसलाई एकदमै दृढ रुपमा सशक्त ढंगले अगाडी बढाएको छु । अधुरा, सम्पन्न नभएका र गलत ढंगले कसैको सिफारिसमा भूक्तानीका लागि म सम्म आएकालाई भूक्तानी गर्न रोक्छु । त्यसकारण अहिलेदेखि नै काममा इमान्दार ढंगले समयमै सम्पन्न गरी भूक्तानीको प्रक्रिया बढाउन निर्देशन दिन्छु ।’ जनता मिडियासँग उनले भने ।
बाँकी रहेका वडा नं २ र ५ को अर्को दिन अनुगमन हुने संयोजक थापाले बताए । यसका क्रममा अधिकांश विकास निर्माणका काम ५० प्रतिशत भन्दा धेरै सम्पन्न भईसकेका पाईएका छन् । केहि काम सुरु हुने प्रक्रियामा छन् । यसरी आर्थिक मसान्त अगावै काम सुरु भएर सम्पन्न हुने बाटोमा जानुले ताँजाकोटको विकासको गतिलाई प्रस्ट्याएको छ ।