हनुमानढोका सौन्दर्यकरणमा स्थानीय अपनत्व जरुरी

जनता संवाददाता
२०८० फाल्गुन २४ गते, बिहीबार

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहिबार हनुमानढोकाको सौन्दर्यकरण अभियानअन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजनाअनुरुप श्रीसार्दुल जङ्ग गुल्म र हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयुक्त आयोजनामा गत मङ्सिरमा हनुमानढोका सौन्दर्यकरण अभियान सुरु भएको हो ।

मन्त्री श्रेष्ठले नेपाली सेनाले अस्तव्यस्त भएको स्थानमा सौन्दर्यकरण गर्ने काम गरेर ऐतिहासिक हनुमानढोका परिसरको सौन्दर्यकरणमा लागि परेकोले खुशी व्यक्त गरे । उनले भने–यस कार्यमा स्थनीयहरुलाई पनि संलग्न गराएमा अझ राम्रो हुन्छ ।

स्थानीयहरुको अपनत्व भएन भने सांस्कृतिक क्षेत्र खासै बाँच्दैन । उनले नेपाली सेनालाई यस्तो सामाजिक र सांस्कृतिक काम गरिरहेकोमा धन्यवाद पनि दिए ।

यसैगरी गुल्मपति पूर्ण प्रजापतिले २०७७ सालदेखि नै शार्दुल जङग गुल्मले हनुमानढोका परिसर सरसफाइ अभियान गरिरहको भएपनि यसपालि विस्तारित रुपमा काम भइरहेको छ, भने ।

उनले आगामी दिनमा अन्य गमला स्ट्यान्डका साथै संस्कृति सम्पदा जोगाउन प्रेरणा दिने महावाणीहरु राख्ने जानकारी पनि दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते, बिहीबार


Scroll to Top

Janata Media