न्युरोडको लक्की ज्वेलर्सका दुई सञ्चालकविरुद्ध अवैध सुन तस्करी र संगठित अपराधमा मुद्दा दायर

जनता संवाददाता
२०८१ असार १८ गते, मंगलवार

काठमाडौं । अवैधरुपमा नेपाल भित्राएर तस्करी गरिएको ३ हजार १९४ किलोग्राम सुन प्रकरणमा न्युरोडस्थित लक्की ज्वेलर्सका दुई सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ । सिआइबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ज्वेलर्सका सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मंगलवार सिआइबीका डीएसपी सुन्दर तिवारीको अनुसनधान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता रमेश भट्टराईले लक्की ज्वेलर्सका सञ्चालक ऋषि ठाकुर र मुकुन्द कुमार ठाकुर समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।काठमाडौंको न्युरोड र हेटौंडामा लक्की ज्वेलर्स, विशालबजारमा ग्रुप अफ लक्की ज्वेलर्स र चितवनमा लक्की ज्वेलर्स ईन्डष्ट्री सञ्चालन गरेका ठाकुरद्वयले संकटा मन्दिर नजिकै सुन रिफाइनरी उद्योगसमेत सञ्चालन गरेको पाइएको छ ।

जनकपुर नगरपालिका वडा नम्बर ११ पटियागाठी, धनुषा घर भएका ठाकुरद्वयले कुल ३ किलो ४४९ ग्राम १२ लाल अवैध सुन खरिद गरी विक्री वितरण गरेको पाइएको भन्दै सिआइबीले तत्कालीन समयको दररेट अनुसार ३ करोड ३२ लाख ८५ हजार ७४७ रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको छ ।

उनीहरूले अधिकांश सुन सुन तस्करी र सुनको रिफाइनमा काम गर्ने सिद्धार्थ गायकवाडमार्फत् खरिद गरेको पाइएको हो ।

उनीहरुविरुद्ध अवैध सुन कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । उनीहरु दुवै जना फरार छन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते, मंगलवार


Scroll to Top

Janata Media