श्रीमतीको हत्या गरेर श्रीमान् जब प्रहरी कार्यालय पुगे…

जनता संवाददाता
२०८१ बैशाख २० गते, बिहीबार

काठमाडौँ । बुधबार बिहान प्रहरी वृत्त बौद्धमा एक व्यक्ति श्रीमतीको हत्या गरेको भन्दै आफैँ उपस्थित भए । सुरुमा त प्रहरी अधिकारीले उनलाई विश्वास गरेनन्, तर उनले विस्तृतमा बताएपछि डिएसपी राजु पाण्डे उनलाई प्रहरी गाडीमा राखेर घटनास्थल पुगे । श्रीमतीको शरीर चिसो भएकाले मृत्यु भइसकेको हुन सक्ने उनले प्रहरीलाई बताएका थिए ।

काठमाडौं महानगरपालिका– ६ भूगोलडाँडामा डेरा गरी बस्ने सन्तोष परियार श्रीमतीको हत्या गरेर प्रहरी कार्यालय पुगेका हुन् । ‘उनको कोठा खोलेर हेर्दा श्रीमती अनिशा परियार मृत अवस्थामा भेटिइन्,’ डिएसपी पाण्डेले भने, ‘आपसी विवादमा उनले निर्घात कुटेर हत्या गरेका रहेछन् ।’

प्रहरीका अनुसार विवाहेत्तर सम्बन्धको विषयलाई लिएर उनीहरूबीच झगडा हुँदै आएको थियो । श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका लागेपछि उनले कोठामा मोबाइल लुकाएर श्रीमतीका कुराकानी रेकर्ड गर्न थालेका थिए । श्रीमतीले एक पुरुषसँग मायाप्रेमका कुरा गरेको मोबाइलमा रेकर्ड गरी पुष्टि गरेका थिए । त्यही विषयमा उनीहरूबीच मंगलबार बेलुका झगडा भएको थियो । मदिराको नसामा आफूले कुटपिट गरेको उनले बताएका छन् ।

हत्या मंगलबार बेलुका नै भए पनि बुधबार बिहान मात्र उनी प्रहरी कार्यालय पुगेका हुन् । प्रहरीका अनुसार अभियुक्त सन्तोषको यो दोस्रो विवाह हो भने अनिशाको तेस्रो । विवाहको सुरुदेखि नै उनीहरूबीच सम्बन्ध राम्रो थिएन । वैदेशिक रोजगारीमा गएर फर्किएका सन्तोषले एक सातादेखि सेक्युरिटी गार्डको काम गर्न थालेका थिए । आफूले सहनै नसकेर श्रीमतीको हत्या गरेको उनले सोधपुछमा बताएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार


Scroll to Top

Janata Media