सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह

जनता संवाददाता
२०८० चैत्र ९ गते, शुक्रबार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरबारमा भेटवार्ता गर्नुहुँदै निर्यात गृहको अवधारणा अविलम्ब लागू गर्न आग्रह गरेको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘स्थानीय उत्पादनहरुको एकीकृत प्रवर्द्धन, बजारीकरण एवम् गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ ।’’

चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ । रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमुलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो ।

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै चेम्बरले संसदमा विचाराधिन आर्थिक विधेयकहरुलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न समेत आग्रह गरेको छ ।

सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्न आग्रह गरेको छ । वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधानहरु असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ ।

स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीवुटी एवम् वनजन्य उद्योगहरुमा आवश्यक कानुन बनाई निर्यात प्रवर्द्धन गरिनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

एकद्वार प्रणालीमा आधारित स्थायी संयन्त्रमार्फत् बजार अनुगमन गरिनुपर्नेमा चेम्बरले जोडदिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुख पाइरहेको बताए । उनले उद्योगी व्यवसायीलाई पहिला सुन्ने अनि मात्रै कानुनी प्रक्रियामा जान पनि आग्रह गरे ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते, शुक्रबार


Scroll to Top

Janata Media