काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान थप प्रभावकारी हुने बताएका छन् ।
कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल ९कोटान० स्थापनाको सातौँ वर्षिकोत्सव तथा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
उहाँले भन्नुभयो, “हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या १० औँ स्थानमा रहेको छ । सन् २०२३ मा २३ हजार ७४३ र कोरोना महामारीअघि ४७ हजार कोरियाली पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएकाले सहज रूपमा पर्यटक भित्रिने वातावरण आजको आवश्यकता हो ।”
कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ–कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिने बताउने उनले कार्यक्रममा सहभागी नेपालका लागि कोरियन राजदूत पार्क ताइयोङसँग निगमको उडान सञ्चालन गराउन सकारात्मक भूमिकाको अपेक्षा रहेको सुनाए ।
त्यस्तै उनले नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वर्षको अवसर पारेर कोरिया र नेपाली पर्वतारोहीले संयुक्त रूपमा आरोहण गर्ने जुगल पहिलो र दोस्रो हिमाल आरोहणमा लाग्ने सलामी दस्तुरमा चैत ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले छुट दिने निर्णय गरेको जानकारी दिए ।
कार्यक्रममा कोटानका अध्यक्ष अमरबहादुर शाहीले नेपालमा कोरियाली पर्यटक वृद्धि गर्न काठमाडौँ–कोरियाका लागि सिधा उडान उडान सञ्चालनमा ल्याउन आग्रह गरे ।
उनले भने, “नेपाल भम्रण गर्ने कोरियाली पर्यटकको सङ्ख्या बर्सेनि बढ्दो छ । भ्रमणको उद्देश्य र वैदेशिक रोजगारीका क्रममा आउजाउ गर्ने यात्रुको सङ्ख्यासमेत बढाउन सिधा उडान सहज र सुलभ हुने देखिन्छ ।” नेपालबाट निगमको सिधा उडान सञ्चालन हुँदा कोरियाली पर्यटकको सङ्ख्या अझै वृद्धि हुने उनले बताए ।
त्यस्तै कोरियाली राजदूत पार्क ताइयोङले गत वर्षदेखि नेपाल वायुसेवा निगमले कोरियामा सिधा उडान गर्न खोजिरहेको भन्दै कोरियाको सम्बन्धित विभागले यसबारे हेरिरहेको र यसमा सकारात्मक भूमिका रहने विश्वास दिलाए ।
समारोहमा कोरियन पर्यटकका लागि तयार पारिएको नेपालको गाइड र कोटानको स्मारिका विमोचन गरिएको छ ।







