खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

जनता संवाददाता
२०८१ मंसिर ५ गते, बुधबार

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोगर्‍याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उहाँले नेपालमा साहसकि खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रसस्त सम्भावना रहेकाले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरुलाई आग्रह गरेका हुन् ।

अहिले खेलकूदको आकर्षण र महत्व विश्वव्यापीरुपमा बढ्दै गएकाले अन्य क्षेत्रहरुजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरुलाई अगाडि बढाउन सक्ने उनको भनाई थियो ।

उहाँले भन्नुभयो “नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरु साहसकि पर्यटनका लागि संसारमै प्रख्यात छन् । त्यसैले हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ ।

त्यसका लागि नेपालको पर्यटन तथा खेलकूद मन्त्रालयले समन्वयात्मक रुपमा काम गर्नुपर्दछ ।”गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसिडी (एसियन कोअपरेसन डायलग) को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रुपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायहरुसँग आज सो बैठक राखिएको थियो ।

मन्त्री डा. राणाले नेपालामा माउन्टनेयरिङ, र्‍याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुची बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्था समेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याई आर्थिक कूटनीतिका क्षेत्रमा ठूलो योगदान पुर्याउन सकिने बताए ।

उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राख्दै नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको धारणा राखे ।

मन्त्री डा. राणाले भने “हामीले अहिले आर्थिक कूटनीतिको प्रवर्धनमा जोड दिएका छौँ र यसका लागि अलग्गै महाशाखा स्थापनाको योजनामा पनि छौँ । त्यसैले आर्थिक कूटनीतिको प्रवर्धनका लागि पनि हाम्रो देशको साहसिक खेलको सम्भावनालाई अधिकतम उपयोगमा ल्याउन सम्बद्ध सबै क्षेत्रसँग आग्रह गर्दछौँ ।”

सो परामर्श बैठकमा रक्षामन्त्री मानवीर राइले हाम्रो देशमा रहेको पर्यटन र साहसिक खेलको सम्भावनालाई कूटनीतिसँग जोडेर पर्यटन कूटनीतिको विकास गर्ने योजना बनाउन आग्रह गरे ।

सो बैठकमा परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूद मन्त्रालयका सचिवहरु, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यावसायिक सङ्घ संस्थाहरुले पनि नेपालमा साहसिक खेलका सम्भावना, आवश्यकता र चुनौतीका विषयमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर ५ गते, बुधबार


Scroll to Top

Janata Media