डढेलो निभाउने क्रममा घाइते भएका डोल्पामा कार्यरत थप दुई सैनिकको मृत्यु

जनता संवाददाता
२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । डोल्पाको जंगलमा लागेको डढेलो निधाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ । सोमबार ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए ।

ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो ।

मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो । प्युठ विजय कोइरालाको भने उपचार भइरहेको छ । सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते, मंगलवार


Scroll to Top

Janata Media