सात सिट क्षमताको गाडीमा ३४ यात्रु हुल्दा दुर्घटना

जनता संवाददाता
२०८१ कार्तिक ३ गते, शनिबार

काठमाडौं । नवलपुरमा भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका –२ की २० वर्षीया पवित्रा मर्साङ्गी र सोही ठाउँका १८ वर्षीय पवन मर्साङ्गीको घटनास्थलमै मृत्युभयो । ३१ जना घाइते भए ।

घाइतेमध्ये १८ जनाको गम्भीर अवस्थामा चितवन मेडिकल कलेल भरतपुरमा, १४ जनाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडीमा क्षमताभन्दा बढी यात्रु राख्नु दुर्घटनाको मुख्य कारण रहेको नवलपुर प्रहरीले जनाएको छ । पाँचदेखि सात जनासम्म अट्न सक्ने बोलेरोमा ३४ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

सो गाडी अरु बेला बुलिङ्टार–मुण्डे–दलदले–कावासोती चल्ने गरेकोमा मुण्डेमा प्रहरी चेकिङ्ग हुने गरेकाले चेकिङ छल्न बुलिङटारबाट बालुवाडाँडा हुँदै कावासोती आउन लागेको घाइते यात्रुले बताएका छन् । प्रहरी उपरीक्षक ढकालले पनि बालुवाडाँडामा प्रहरीको नियमित चेकिङ नहुने गरेको बताए ।

गाडीबाट हाम फालेर ज्यान बचाएका बुलिङटार –१ का अर्जुन नेपालीले मुण्डेमा प्रहरी हुने भन्दै बालुवाडाँडाबाट कावासोती ल्याउन लागेको र घुम्तीमा तिब्र गति र यात्रुको संख्या बढी भएकाले दुर्घटना भएको बताए । आफू हाम फालेको केही सेकेण्डमै दुर्घटना भएको र आफूले नै गाडीमा च्यापिएका यात्रुको उद्धार गरेको उनले बताए ।

आइतबारदेखि विद्यालय र क्याम्पस खुल्ने भएकाले दसैं मान्न घर गएका धेरै विद्यार्थी दुर्घटनामा परेका कावासोती द्द१ का वडाध्यक्ष तबारक अहमद मियाँले बताए ।

को को भए घाइते

घाइते हुनेहरूमा बोलेरो चालक ३२ वर्षीय लीलबहादुर सुस्लिङ, ३२ वर्षीया तुलीमाया सारु, २४ वर्षीया सबिना सारु, १८ वर्षीया सृष्टि पाटा मगर, २६ वर्षीया मालती थानी परियार, २२ वर्षीया झमिसरा पुलामी मगर, २४ वर्षीय रवीन्द्र पुलामी मगर, ३ वर्षीय कृष्ण पुलामी मगर, ३ वर्षीय कृषन पुलामी मगर, २९ वर्षीया सजिता खत्री, ८ वर्षीय सेरेन खत्री, ३० वर्षीया कृति परियार, ७ वर्षीय सचिन परियार, ९ वर्षीय आशिष राना मगर, बोलेरो साहु ४३ वर्षीय भोजबहादुर पुलामी मगर र १२ वर्षीया आयुसा तिवारी रहेका छन् ।

त्यस्तै, ७ वर्षीय सफिरा परियार, १३ वर्षीया मालिका सुस्लिङ, १५ वर्षीया रोशनी चिदी, ३३ वर्षीय कर्णबहादुर सुस्लिङ मगर, दुई वर्षकी दिपिसा सारु, २४ वर्षीया न्युमाया सारु, ४ वर्षकी आयुषा पुलामी, २९ वर्षकी संगिता घर्ती, ८ वर्षीय सुरन घर्ती, २१ वर्षीय दिलु नेपाली, १४ वर्षका सुदिप पाटा, १८ वर्षका अर्जुन नेपाली, २५ वर्षका दिलबहादुर सारु र ३३ वर्षका कर्णबहादलुर सुस्लिङ घाइते भएका छन् ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, शनिबार


Scroll to Top

Janata Media