भ्रष्टाचार आरोपमा नगर प्रमुखविरुद्ध पाँच करोडको अख्तियारमा मुद्दा

जनता संवाददाता
२०८० चैत्र २८ गते, बुधबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरप्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

प्रमुख थापाले गैरकानुनी रूपमा पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । नगरप्रमुख थापाले वि.सं.२०७४ असोजदेखि वि।सं।२०७९ माघसम्ममा सात करोड ८६ लाख ५० हजार अवैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ ।

कुल आय तथा लगानी र खर्चबिचको तादात्म्य नमिलेको पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ अवैध तरिकाले आम्दानी गरेको अख्तियारका दाबी छ । यसैगरी आयोगले नगर प्रमुख थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतका नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बिमा प्रिमियम भुक्तानीमा भ्रष्टाचार गरेको रकम खर्च भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार


Scroll to Top

Janata Media