काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो। ओमानको अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १४४ को लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ बलमा भेट्टाएको हो।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ३२ रन जोड्नुभयो । कप्तान रोहित पौडेल २८, कुशल भुर्तेल २४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । नेपालका लागि गुल्सन झाले नटआउट ७ बलमा १९ रन जोड्नुभयो भने सन्दीप जोराले नटआउट १२ रन बनाए । नेपालको जितका लागि गुल्सन र सन्दीपको साझेदारी महत्त्वपूर्ण रह्यो ।
नेपालको इनिङलाई कमजोर बनाउँदै मलेसियाका लागि विरनदीप सिंहले तीन विकेट लिए भने पवनदीप सिंह र मोहम्मद वाफिकले एकरएक विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको मलेसियाले तीन विकेटको क्षतिमा १४३ रन बनाएको थियो । उसका लागि विरनदीप सिंहले नटआउट ५७ बलमा ७२ रन बनाए । शर्विन मुनिन्दीले ३३ बलको सामना गर्दै ४४ रन बनाए भने मोहम्मद अमिरले १८ बल खेल्दै १६ रन जोडे । सैयद अजिजले ६ रन बनाउँदा नजमुस साकिब नटआउट ३ रनमा समेटिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट हात पारे । दुई विकेट लिएर ११ बलमा २० रन जोडे नेपालका दिपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच बने ।
साबिक विजेता नेपालले मलेसियाविरुद्ध सुखद सुरुवात गरेको हो । प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । एसीसी प्रिमियर कपको साबिक विजेता नेपाललाई यसपटक उपाधि रक्षा गर्ने चुनौती छ ।







