डोल्पामा एक सातामा डढेलोमा परि ६ जनाको मृत्यु

जनता संवाददाता
२०८१ बैशाख १ गते, शनिबार

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सातामा डढेलोमा जलेर ६ जनाको मृत्यु भएको छ । सुँ सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका त्रिपुरासुन्दरी नगरपालिका– ४ रङ्ग गाउँका तीनै जना बालकको उपचारका क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या छ पुगेको हो।

चैत २९ गते जलनमा परी घाइते भएका १३ वर्षीय समन्त बुढा र ११ वर्षीय विवश बुढाको उपचारको क्रममा काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको आफन्त विकाश बुढा क्षेत्रीले जानकारी दिनुभयो। उनीहरूसँगै जलेर घाइते भएका १० वर्षीय सुलस बुढाको उपचारको क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको थियो । २ जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।

एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

वनमा गुच्छी च्याउ टिप्न गएको बेला चैत २९ गते आगोमा परी रङ्ग गाउँका ९ वर्षीय विवश बुढा, १० वर्षीय सुलस बुढा र १३ वर्षीय समन्त बुढा घाइते भएका थिए ।

गत सोमबार डोल्पाकै मष्टाभवानी सामुदायिक वनमा डढेलो निभाउन गएका देवीदत्त गुल्मका तीन जना सैनिकको मृत्यु भएको थियो । एक जनाको भने कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते, शनिबार


Scroll to Top

Janata Media