काठमाडौँ । एसिया कप छनोटबाट बाहिरिएको नेपाल इमर्जिङ एसिया कपबाट पनि बाहिरिएको छ ।
एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
हङकङका लागि आन्सी राथले अविजित ६५ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै बाबर हायातले २६, अैजाज खानले १२ र नसरुल्ला रानाले अविजित ११ रन बनाए । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए ।
उनले २९ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । सन्दीप जोराले २२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाए ।
ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । उनी यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट भएका हुन् । यस्तै करण केसी तीन रन जोड्दै पेभेलियन फर्किए । ललित राजवंशीले अविजित दुई रन बनाए ।
बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिए । अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिए । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।
नेपालको एसिया कप खेल्न सपना भने संयुक्त अरब इमिरेट्स (युएई) ले चकनाचुर बनाएको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो । नेपालले समूह चरणको खेलमा भने हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।