
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं.३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता गरेको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही सहित इन्जिनियर रुद्र बहादुर वली र असिस्टेन्ट सव(इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
आ.व. २०७४/७५ मा संचालित चंखेली गाउँपालिका वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरेरनगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको आशंकामा आरोपपत्र दायर गरेको हो ।
रु.२,२२,५०५.१७ भन्दा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निजहरु बिष्णु बहादुर शाही, रुद्र बहादुर वली र हर्कधन बुढालाई रु.२,२२,५०५.१७ (दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ पैसा सत्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै निजहरु रुद्र बहादुर वली र हर्कधन बुढाले उक्त निर्माणमा नभए नगरेको कार्यसमेत राखी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसुर गरेकोले निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।
उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीले बाटो निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेरनगराएको परिमाणको मूल्याङ्कन गराई बास्तविक रुपमा भएको कार्यभन्दा रु.२,२२,५०५.१७ बढी भुक्तानी लिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले निजहरु मनजित रोकाया, धनपति ऐडी र पुनी ऐडीलाई रु.२,२२,५०५.१७ (दुई लाख बाइस हजार पाँच सय तीन रुपैयाँ पैसा सत्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
चंखेली गाउँपालिका वडा नं.३ का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदाबी आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।