काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुलको निर्माण कार्य छठपछि सुरु गरिने भएको छ । भेरिकरिडोर सडकअन्तर्गत पर्ने उक्त पक्की पुलको निर्माण कार्य वाइपी एमआर जेभि भरतपुर चितवनले सुरु गर्ने भएको हो ।
२०८३ साउन भित्रमा सम्पन्न गरी सक्नुपर्ने पुलको छठपछि निर्माण कार्य सुरु गरिने गरी अहिले लेआउटको काम अन्तिम चरणमा पुगेको पुल निर्माणको जिम्मेवारी पाएको वाइपी एमआर जेभीका आधिकारिक प्रतिनिधि सागर भट्टराईले जानकारी दिए ।
एउटा मात्र स्पाम रहने पक्की पुलको निर्माण अवधी ४२ महिनामध्ये ९ महिना पुलको डिजाइनको समय रहेकोमा डिजाइन लगायत लेआउटको काम सम्पन्न भएको छ ।
अबको ३३ महिना भित्रमा पुल निर्माण भइसक्ने वाइपी एमआर जेभिका प्रतिनिधि भट्टराईले बताए । छलगाडमा निर्माण हुने पुल ४० मिटर लम्बाई ११ मिटर चौडाईको हुने छ ।
भेरिकरिडोर सडक खण्डअन्तर्गतको डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा पुल नहुँदा सवारी आवागमनमा समस्या हुँदै आएको छ ।
वाइपी एमआर जेभि भरतपुर चितवनले डोल्पामा पर्ने छलगाड, खदाङलगायत जाजरकोटको तल्लु र रुकुम पश्चिमको अनाहज्युला जोड्ने भेरिनदी माथिको पक्की पुल निर्माणको जिम्मेवारी पाएको छ । तल्लु र खदाङमा हाल अस्थाई रुपमा बेलिब्रिज पुल निर्माण भई सवारी साधन सञ्चालनमा छन् ।
तर छलगाड खोलामाथि बेलिब्रिज पुल नभई एकैसाथ पक्की पुल निर्माण गरिने भएकाले पहिलो प्राथमिकतामा राखेर छिटोभन्दा छिटो निर्माण गर्ने गरी काम सुरु गरिने वाइपी एमआर जेभिका प्रतिनिधिको भनाइ छ ।
स्थानीय अवरोध लगायत कानुनी समस्या नआएमा आगामी वर्ष २०८२ को असार मसान्त भित्रमा पक्की पुल निर्माण गरी सक्ने निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणका लागि प्रयाप्त बजेट विनियोजन भएको र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया लगायतको पहल सकरात्मक रहेकाले पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि सागर भट्टराईले बताए ।
जाजरकोटको तल्लुबगरस्थित भेरिनदि माथिको पुल डोल्पाको खदाङस्थित हरियापानी र छलगाड खोलामाथि गरी तीन ओटा पक्की पुल निर्माणका लागि ३६ करोडमा वाईपी एमआर जेभिे भरतपुर चितवनले जिम्मेवारी लगेको छ ।