इलाममा ५७ प्रतिशत मत खस्यो, मतगणना आज रातिदेखि

जनता संवाददाता
२०८१ बैशाख १५ गते, शनिबार

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए ।

५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।

गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर दल तथा उम्मेद्वारका प्रतिनिधि बस्ने स्थान तयार गरिएको छ ।

यस्तै, गणनास्थल, मतपेटिका भण्डारण कक्ष र सभा भवनको बाहिरपट्टि गरी ११ वटा सिसि क्यामेर जडान गरिएको मतगणना स्थलमा खएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्र श्रेष्ठले बताए ।

‘कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु हुन्छ’ उनले भने ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते, शनिबार


Scroll to Top

Janata Media