पोखरामा कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

पोखरा । कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार भएको सामाजिक विषयको प्रश्नपत्र आउट गर्ने पोखरा महानगरपालिका वडा नं.११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका वर्ष ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

नाराणण र रामचन्द्रको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका आठ थान र तीन मोबाइलसमेत नियन्त्रणमा लिइएको शर्माले जानकारी दिए। आइतबार ९ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी स्थित शिवशक्ति माविबाट कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको थियो।

वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले प्रश्नपत्र आउट गरेको अभियोगमा दुई जनालाई नियन्त्रण लिएको हो।

उनीहरुलाई शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media