
काठमाडौँ । करिब डेढ वर्षअघिदेखि बालुकुनामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाको गाडी सदरमुकाम सिमकोट पुगेको छ । नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गतको हुम्ला खण्डको छारेको चट्टानी भीर खोलेपछि सदरमुकाम सिमकोट पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक नरेन्द्र चन्दका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालद्धारा निकासा भएको बागमती प्रदेश ०१-००२ झ ६३९५ को बलेरो पिक अप जीप कर्णाली करिडोर अन्तर्गको छारे भिर छिचोलेसँगै दोजाम खोला तारेर सदरमुकाम सिमकोट ल्याईएको हो ।
‘यसअघि प्रहरीले हेलिकोप्टरबाट ढुवानी गरेर गाडी सदरमुकाम सिमकोट पुर्याउने प्रयास गरे पनि सफल भएको थिएन । यसअघि उक्त गाडीले हुम्लाको सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुलीमा काम गरिरहेको थियो । सडक बनेसँगै तत्काल हामीले सिमकोट ल्यायौँ ।’ जनता मिडियासँग उनले भने ।
पहिलोपटक प्रहरीको गाडी सदरमुकाम सिमकोटमा पुगेपछि शान्ति सुरक्षाका सन्दर्भमा सशक्त भएर काम गर्ने विश्वास गरिएको छ । यो भन्दा पहिला कुनै घटना भए तत्काल उक्त घटना स्थलमा पुग्न सकिने अवस्था थिएन तर अब गाडी पुगिसकेपछि तत्काल सुरक्षाका लागि प्रहरीको टोलि खटिन सक्ने भएको छ ।
यसले सदरमुकाम सिमकोट लगायत आसपासका क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रण गर्न महत्तवपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसका लागि सहयोग गर्न सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुलाई प्रहरी कार्यालय हुम्लाले आग्रह गरेको छ ।
यसअघि प्रहरीलाई तत्काल कुनै घटना स्थलमा जानु परे गाडी रिजर्भ गर्नुपर्ने र कुनै निकायसँग सहयोग माग्नुपर्ने अवस्था थियो । तर अहिले सहज हुने आँकलन गरिएको छ ।