सगरमाथा आरोहण एक साताभित्र सुरु हुने

जनता संवाददाता
२०८१ बैशाख २० गते, बिहीबार

काठमाडौँ । वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।

उनले भने, “सगरमाथासहित लोत्से र नुत्से हिमाल आरोहणका लागि बाटो बनाउन गएका आइसफल डाक्टरको टोलीले आरोहण मार्गमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम सकेर आधार शिविर फर्किसकेको छ । अहिले आरोही आधार शिविरबाट पहिलो र दोस्रो शिविरसम्मको अभ्यासमा रहेकाले मौसमले साथ दिए एक साताभित्र आरोहण सुरु हुने छ ।” उनले यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै हालसम्मकै ३९० जनाले आरोहण अनुमति लिइसकेको बताए। सगरमाथा आरोहण गर्न ३७ समूहका ३२० पुरुष र ७० जना महिलाले अनुमति लिएका छन् ।

विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४४ समूहका ४६७ आरोहीले अनुमति लिएका थिए । सगरमाथा आरोहणको इतिहासमा गत वर्ष सबैभन्दा बढीले अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० मा कुनै मानव पाइला सगरमाथामा पुगेको थिएन । यसअघि सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । यस वर्ष आरोेहणका लागि खुला गरिएका हिमालमध्ये (सगरमाथासहित) ३० वटा हिमाल आरोेहण गर्न बुधबारसम्म १०५ समूहका ९२९ जनाले अनुमति लिएका छन् । उक्त हिमालमा आरोहण अनुमति दिएबापत ६३ करोड ७५ लाख ४० हजार ४५१ रुपियाँ सलामी दस्तुर सङ्कलन भएको छ । यस पटक हिमाल आरोहण गर्न नेपालसहित ८० देशका नागरिकले अनुमति लिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार


Scroll to Top

Janata Media