सडक अलपत्र पार्ने घरबेटी हुन् वा दाजुभाइ कसैलाई छाडिन्न :मन्त्री श्रेष्ठ

जनता संवाददाता
२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीले धेरै सडकको बिचल्ली बनाएका छन्, उनलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिनुभएको बताए। उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह गरे । उनले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए । उनले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए ।

उनले भने, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाईसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यक्तालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला । राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौँ । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नुभएन । के सहयोग चाहिन्छ त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।’

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए । उनले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताए । उनले सडक कमभन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मत सम्भार हुनुपर्ने बताए ।

उनले भने, ‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ । हामीले कति खाल्डो छन् भनेर नियालिरहेका छौँ । राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ । सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूर सञ्चारको कामहरु छ, एकीकृत ढंगले अघि बढ्नुपर्छ । सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस् । खनिएको ठाउँमा पुनःस्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बैठक गरेका छौँ । हामी अहिले सबै मिलेर काम गरिरहेका छौँ । राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन् ।’

उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडकको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताए । उनले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताए।

प्रकाशित मिति : २०७९ पुष २९ गते, शुक्रबार


Scroll to Top

Janata Media